प्युठान । प्युठानको झिमरुक गाउँपालिकाले ६५ जना अस्थायी तथा करार कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको छ । पालिकाले चालु आर्थिक वर्षको माघ महिनादेखि लागू हुने गरी अस्थायी तथा करार सेवामा रहेका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराएको हो ।
अस्थायी तथा करार सेवामा लामो समयसम्म काम गरेपछि सेवा अवधि समाप्त हुँदा कर्मचारीहरू रित्तो हात घर फर्किनुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले सामाजिक सुरक्षा कोषमा आवद्ध गराइएको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो । स्वीकृत दरबन्दीभित्र रही करार सेवा गरिरहेका कर्मचारीको भविष्य सुरक्षित गर्न पालिकाले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने निर्णय गरेको बताउनुभयो ।
पालिकामा कार्यरत कर्मचारीहरूको मनोबल उच्च राख्ने, सेवामा स्थायित्वको अनुभूति गराउने तथा सेवा अवधि समाप्त भएपछि आर्थिक सुरक्षाको सुनिश्चितता गर्ने उद्देश्य सहित यो कार्यक्रम लिएको उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिनुभयो।उहाँले सामाजिक सुरक्षा कोषले कर्मचारीको कार्यक्षमता र सेवाप्रतिको प्रतिबद्धता अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।
पालिकाले कर्मचारीको तलबको ६० प्रतिशत रकमलाई सतप्रतिशत मानी सो रकमको कर्मचारीतर्फबाट ११ प्रतिशत र पालिकातर्फबाट २० प्रतिशत योगदान थप गरी सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरिने जानकारी गराइएको छ । यस व्यवस्थाले करार कर्मचारीलाई निवृत्तिभरण, औषधोपचार, दुर्घटना तथा पारिवारिक सुरक्षा जस्ता सुविधा प्राप्त हुने सामाजिक सुरक्षा कोष बुटवल कार्यालयका कार्यालय प्रमुख केदार पौडेलले जानकारी दिनुभयो ।
पालिकाले ६५ जना करार कर्मचारीका लागि माघदेखि असारसम्मको योगदानस्वरूप कुल १० लाख रुपैयाँ सामाजिक सुरक्षा कोषको लागि बजेट बिनियोजन गरिसकेको लेखा अधिकृत अरबिन्द्र महतले जानकारी दिनुभयो । उहाँका अनुसार अपुग रकम समेत अन्य स्रोतको खोजी गरि व्यवस्थापन गरिने बताउनुभयो ।
नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत बैशाख १ गते प्रकाशित सूचनामा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र नियमावली, २०७५ बमोजिम सरकारी कोषबाट पारिश्रमिक लिने (निवृत्तभरण नपाउने) सबै व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्न गराउन निर्णय थियो ।
झिमरुक गाउँपालिकाको आयोजनामा करार सेवामा कार्यरत कर्मचारी र अन्य रोजगारदाताका प्रतिनिधिलाई सामाजिक सुरक्षा कोषमा आवद्धता सम्बन्धि अभिमुखीकरण कार्यक्रमको सहजीकरण सामाजिक सुरक्षा कोष बुटवल कार्यालयका कार्यालय प्रमुख केदार पौडेलले सहजीकरण गर्नुभएको थियो । निमित्त प्रमुख प्रशासकीय अधिकृत विकास केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन योजना शाखा प्रमुख यामलाल पोख्रेलले गर्नुभएको थियो भने कार्यक्रमको संयोजन आर्थिक प्रशासन शाखा प्रमुख अरविन्द महतले गर्नु भएको थियो ।
पालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा उपाध्यक्ष प्रमोद पोख्रेल, निमित्त प्रमुख प्रशासकीय अधिकृत विकास केसी, वडा अध्यक्ष, कार्यपालिका सदस्य, करार सेवामा कार्यरत कर्मकारी लगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।




S.K. Creative Media Group