“रानीबास बगरको समग्र विकासका लागि डिपिआर तयार गरी क्रमबद्ध विकासको सुरुवात गर्दैछौं।”
प्यार अली खान
प्युठान । सरुमारानी गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले सबै धर्म संस्कृति रीतिथितिको जगेर्ना गर्न गाउँपालिका लागि परेको बताउनुभएको छ। आइतबार सरुमारानी-२, मा अवस्थित रानीबास बगरमा आयोजित ल्होसार मेलाको उद्दघाटन गर्दै उहाँले भन्नुभयो, ‘हाम्रो सामाजिक पूँजीको रूपमा रहेका मौलिक संस्कार, संस्कृतिको संरक्षणमा हामीले ध्यान दिएका छौं।’
गाउँपालिकाले ३ वटा विद्यालयमा मगर भाषाको पढाई तथा सिकाई सुरु गरेको उहाँले जानकारी गराउनुभयो। सबै धर्म संस्कृतिको सम्बर्द्धनमा गाउँपालिकाले नीति बनाई बजेटको व्यवस्था गरि अगाडि बडिरहेको अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो। रानीबास बगरको समग्र विकासका लागि डिपिआर बनाई क्रमबद्ध विकासको सुरुवात गर्दै जाने योजना रहेको अध्यक्ष विश्वकर्माले सुनाउनुभयो।

सरुमारानीको रानीबास बगरमा आज आईतबार ल्होसार रौनक देखियो। यहाँ हजारौंको संख्यामा मेला भर्न आएका थिए। हरेक पुस १५ मा गुरुङ (तमु) समुदायले नयाँ वर्षको रूपमा ल्होसार पर्व मनाउने गर्दछन्। प्यूठानको सरूमारानी गाउँपालिका वडा नं २ मा रहेको रानीबास बगरमा लाग्ने ल्होसार पर्व तथा मेला जिल्लाकै सबै भन्दा ठूलो मेलाको रूपमा लिईन्छ। राप्ती नदी किनारमा रहेको रानीबास बगरमा यहाँ वर्षै पिच्छे भब्य रुपमा ल्होसार मेला लाग्ने गर्दछ। यहाँ करिब ७ देखि १० हजारको संख्यामा मेला भर्न आउँछन्।
दर्भान-भालुवाङ सडकखण्ड छेउमा रहेको यस बगरमा करिब ७ वर्ष अघि देखि ‘तमु ह्युल छोंज धीं’ गुरुङ राष्ट्रिय परिषद सरुमारानी गा.पा इकाइ समिति प्यूठानले ल्होसार पर्व मनाउने संगै बृहत मेलाको आयोजना गर्दै आएको छ।
यहाँ हरेक पुस १५ मा बिना प्रचार-प्रसार स्वत: हजारौंको संख्यामा मेला हेर्न तथा रमाउन आउने गरेको परिषदका अध्यक्ष डण्ड बहादुर गुरुङले जानकारी दिनुभयो। ‘ल्होसार हामी सबै समुदायको साझा पर्व तथा मेलाको रूपमा विकास भएको छ।’ गुरुङले भन्नुभयो, ‘ल्होसारमा देखिने यहाँको हजारौं उपस्थितिले हामी एक आपसमा मिलेर बसेको, हरेक धर्म तथा संस्कृतिलाई एक आपसमा सम्मान गर्न सकेको प्रस्टै चित्र देख्न सकिन्छ।’रानीबास बगरमा गाउँपालिकाको आर्थिक सहयोगमा मंच निर्माण गरिएको छ। यहाँ अन्य भौतिक पूर्वाधार तर्फका संरचनाहरु बनाउन आवश्यक देखिन्छ।

खानेपानी तथा सौचालयको प्रबन्ध गर्न गाउँपालिकालाई आग्रह गरिएको गुरुङले बताउनुभयो। रानीबास बगर नजिकै रहेको राप्ती नदीले बर्सेनि कटान गर्दै आएको छ। यहाँ पालिका तथा प्रदेश सरकारको सहयोगमा बृहत तटबन्धको आवश्यक रहँदै आएको छ।
‘गाउँपालिका समेत विविध प्रकृतिका ठूला प्रतियोगिताहरू यहि बगरमा सञ्चालन गर्दै आएको छ।’ गुरुङले भन्नुभयो, ‘यस बगरमा वनभोज गर्न सकिन्छ।’ अन्य विविध गतिविधि गर्नको लागि पनि यहाँ भौतिक पूर्वाधारका संरचनाहरु बनाउन आवश्यक देखिन्छ।’ रानीबास बगरको संरक्षणमा गाउँपालिकाले ध्यान दिनुपर्नेमा उहाँले बताउनुभयो ।
ल्होसारको अवसरमा आज खुल्ला छेलो तथा महिला घैंटो फोर प्रतियोगीताको आयोजना गरिएको छ भने गुरुङ, मगर थारु संस्कृति झल्निके नृत्यहरू साथै विविध साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको इकाइ परिषद्ले जनाएको छ।



S.K. Creative Media Group