सागर रिजाल

प्युठान । प्युठानको ऐरावती गाउँपालिकाले जिल्लामै नयाँ अभियान संचालन गरेको छ । जिल्लामा बालविवाहका घटनाहरु बढीरहेको अवस्थामा ऐरावती गाउँपालिकाले बालविवाह रोक्नका लागि नयाँ कदम चालेको हो । गाउँपालिकाले १४ औँ गाउँसभा(हिउदे सभा) को अवसरमा पालिकाभित्र बालविवाह भएको जानकारी दिनेलाई पुरस्कारको व्यवस्था गर्ने निर्णय गरेको हो ।

पालिकाभित्र बालविवाहका घटनाहरु बढेकाले यसको न्यूनिकरणका लागि बालविवाह भएको वा हुने जानकारी दिनेलाई २५ हजार रुपियाँ नगद पुरस्कार दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष नबिल विक्रम शाहले जानकारी दिनुभयो । बालविवाह रोकथाम गर्न र त्यसको न्यूनिकरणका लागी विशेष कार्यक्रम सहित अघि बढ्नेगरी कार्यक्रम तय गरिएको उहाँले बताउनुभयो । ‘बालविवाह भएको, हुदै गरेको वा हुने जानकारी प्रहरी चौकी तथा जिल्ला प्रहरी कार्यालयमा दिएमा पहिलो आधिकारिक सूचना दिने व्यक्तिलाई पुरस्कारको व्यवस्था गरिने अध्यक्ष शाहले बताउनुभयो । बालविवाह सम्वन्धी सुचना दिनेको नाम गोप्य राखिने अध्यक्ष शाहले बताउनु भयो । बालविवाह भईरहेको अवस्थामा न्यूनिकरणका लागि पालिकाले यो नयाँ कदम चालेको हो । यसले बालविवाह न्यूनिकरणमा थप टेवा पुग्ने विश्वास लिएको पालिका अध्यक्ष शाहको भनाई छ ।

गाउँसभाबाट दुईवटा ऐन पारित

ऐरावती गाउँपालिकाको दुईवटा ऐन पारित गरेको छ । १४ औं गाउँसभाले दुईवटा ऐन पारित गरेको हो । गाउँसभाबाट खानेपानी तथा सरसफाई र स्वच्छता सम्वन्धी ऐन र स्थानिय मदिरा तथा पेय पदार्थ ब्यवस्थापन गर्न बनेको ऐन पारित भएको गाउँपालिकाले जनाएको छ ।

ऐन पारित भएसंगै अब गाउँपालिका भित्र उत्पादन हुने मदिरालाई प्रविधीमैत्री बनाउदै सर्वसाधारणको स्वास्थ्यमा असर नपर्ने गरी गुणस्तरिय रुपमा मदिराको उत्पादन, बिक्रि बितरण, ब्यवस्थापन र निकासी पैठारी गर्नुपर्ने छ । घरेलु मदिराको ब्यवस्थापनसंगै स्थानिय तहको आन्तरिक आम्दानीको श्रोतको रुपमा समेत यसलाई जोडिने गाउँपालिकाले जनाएको छ । ऐन पारित भएसंगै अब गाउँपालिका भित्र मदिरा उत्पादन गर्न अनुमतीपत्र लिनुपर्ने, र बिक्रि बितरणका लागी पनि अनुमती लिनुपर्ने ब्यवस्था गरेको हो ।

यस्तै स्वच्छ, सुरक्षित र गुणस्तरीय खानेपानी तथा सरसफाइ सेवामा पहुँच प्राप्त गर्ने नागरिकको मौलिक अधिकारको सम्मान, संरक्षण र परिपूर्ति गर्न खानेपानी तथा सरसफाई र स्वच्छता सम्वन्धी ऐन पारित भएको छ । अब गाउँपालिकाभित्र मुहानको संरक्षण, पानीको सहज ब्यवस्थापनमा थप टेवा पुग्ने गाउँपालिका अध्यक्ष शाहले बताउनु भयो ।
त्यस्तै गाउँसभाबाट ऐरावती गाउँपालिकाभित्र रहेका मजदुरहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनको लागि बजेटको व्यवस्था समेत गरिएको गाउँपालिका अध्यक्ष शाहले बताउनुभयो ।

आर्थिक वर्ष ०८०।०८१ को हालसम्म ऐरावती गाउँपालिकाले कर्मचारी व्यवस्थापन, गाउँपालिका भित्रका मुख्य सड्क मर्मत तथा भुक्तानी, प्रधानमन्त्री कार्यक्तमको लागि योजना छनोट, दाङवाङ माध्यामिक विद्यालय अमिलिको भवन निर्माणको लागि भारतीय राजदुताबासमा आवश्यक पहल, ३ वटा योजनाको ठेक्का, १५ बेडको आधारभुत अस्पतालको कार्य लगाएतका कार्यहरु गरेको ऐरावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय