प्यूठान । जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ । स्वास्थ्य कार्यालय प्यूठानले गरेको विभिन्न १७७ वटा आयोजनाको नमुना परीक्षण गर्दा ७१ वटा आयोजनाको पानी अशुद्ध (इकोलाई) भेटिएको हो ।
स्वास्थ्य कार्यालय प्यूठानले बुधबार आयोजना गरेको एक कार्यक्रममा उक्त जानकारी गराउँदै पानी सुद्धिकरणका लागि उपभोक्ताहरुले ध्यान दिनुपर्नेमा जोड दिइएको छ । कार्यालय प्रमुख नरेशबाबु श्रेष्ठले कार्यालयले नुमना परीक्षण गरेर नतिजा सम्वन्धित पालिका, उपभोक्ता समितिमा पठाएको जानकारी गराउँदै ती समस्या देखिएका योजनाहरुमा पानी शुद्धिकरणको प्रक्रिया अपनाउनुपर्ने बताउनुभयो ।
स्थानीय तह र उपभोक्ता आयोजनाले खानेपानी शुद्धीकरणको प्रक्रिया अघि नबढाएको पाईएको छ । यसमा स्थानीय तहले चासो नदिएको उपभोक्ताले गुनासो गरेका छन । गत भदौ देखि असार सम्म पानीको नमुना परीक्षण गरिएको थियो ।
खानेपानी सुरक्षा योजना र खानेपानी गुणस्तर निगरानी तथा संक्रामक रोग निगरानी सम्वन्धी अभिमुखिकरण कार्यक्रममा जनस्वास्थ्य अधिकृत सदिक्षा पोख्रेलले प्रस्तुतीकरण राख्नुभएको थियो । विश्वमा पानीजन्य रोगका कारण वर्षेनी ८ लाख २९ हजार मानिसको ज्यान जाने गरेको तथ्यांक उहाले प्रस्तुत गर्नुभयो । नेपालमा वर्षेनी ३५०० बालबालिकाको मृत्यु हुने गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा जिल्ला अस्पताल प्यूठानका निमित्त मेडिकल सुपरिटेण्डेन्ट सुवास पौडेलले पानीजन्य रोगबाट बच्न सुरक्षित पानी पिउन आग्रह गर्नुभयो । उहाँले पानी उमालेर, फिल्टरको प्रयोग गरेर र अन्य विधि अपनाएर सुरक्षित पानी पिउन आग्रह गनुृभएको हो ।
कार्यक्रममा खानेपानी उपभोक्ता समितिका पदाधिकारी, उद्योग वाणिज्य संघका प्रतिनिधि, होटल व्यवसायी संघका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिती थियो । कार्यक्रमको सञ्चालन जनस्वास्थ्य अधिकृत प्रभा ज्ञवालीले गर्नुभएको थियो ।


S.K. Creative Media Group