काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजना तथा नेवाः पत्रकार राष्ट्रिय दबुको संयोजनमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन–२०२६ आगामी साउन २४ देखि २७ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ । सम्मेलनमा फोनिजमा आबद्ध विभिन्न जातीय पत्रकार संगठनहरू तामाङ पत्रकार संघ, किराँत राई पत्रकार संघ, तमु (गुरुङ) सञ्चारकर्मी संघ, थारु पत्रकार संघ नेपाल, मगर पत्रकार संघ, लिम्बु पत्रकार संघ तथा शेर्पा सञ्चार समूह सह–आयोजकका रूपमा सहभागी रहनेछन् ।
संयुक्त राष्ट्रसंघले सन् २०२२–२०३२ लाई ‘आदिवासी भाषाको अन्तर्राष्ट्रिय दशकका रूपमा घोषणा गरी विश्वभर आदिवासी भाषाको संरक्षण, प्रवद्र्धन र पुनर्जीवनका लागि अभियान सञ्चालन गरिरहेको सन्दर्भमा, विश्व आदिवासी दिवस तथा फोनिजको २७औँ स्थापना दिवसको अवसर पारेर सम्मेलन आयोजना गर्न लागिएको फोनिजले जनाएको छ ।
नेपाल बहुभाषिक, बहुसांस्कृतिक तथा बहुजातीय मुलुक भए पनि धेरै मातृभाषा लोपोन्मुख अवस्थामा पुगेका छन् । सूचना र सञ्चारको मूलधारमा मातृभाषाको प्रयोग सीमित हुँदै गएको तथा आदिवासी समुदायका आवाज पर्याप्त रूपमा प्रतिनिधित्व हुन नसकेको वर्तमान अवस्थामा मातृभाषा पत्रकारिताको संरक्षण, सुदृढीकरण र व्यावसायिक विकासका लागि साझा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहस आवश्यक रहेको आयोजकको भनाइ छ । यही आवश्यकतालाई मध्यनजर गर्दै सम्मेलन आयोजना गर्न लागिएको हो ।
आयोजकका अनुसार सम्मेलनमा विश्वभर आदिवासी मातृभाषा पत्रकारिताको वर्तमान अवस्था, अवसर र चुनौती, पत्रकारहरूको पेशागत, व्यावसायिक तथा भौतिक सुरक्षा, डिजिटल युगमा मातृभाषा सञ्चारको भविष्य, सञ्चार नीतिमा समावेशिता तथा भाषिक अधिकारका विषयमा गम्भीर छलफल हुनेछ । साथै आदिवासी समुदायको जल, जमिन, जंगल, जैविक विविधता, जडीबुटी तथा प्राकृतिक स्रोतसँगको सम्बन्ध, जलवायु परिवर्तनले आदिवासी समुदायमा पारेको प्रभाव तथा जलवायु न्यायमा सञ्चार माध्यमको भूमिकामाथि पनि विभिन्न सत्रहरू सञ्चालन गरिनेछन् ।
सम्मेलनको उद्घाटन सत्र साउन २४ र २५ गते सञ्चालन हुनेछ भने साउन २६ गतेदेखि २७ गते बिहानसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले आठवटा विषयगत कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । कार्यपत्र प्रस्तुतीसँगै प्यानल छलफल, अन्तरक्रिया तथा खुला विमर्शमार्फत मातृभाषा पत्रकारिताको वर्तमान अवस्था, सुधारका सम्भावना, प्रविधिसँगको अनुकूलन, नीतिगत व्यवस्थापन तथा पत्रकारिताको व्यावसायिक सुदृढीकरणका विषयमा साझा निष्कर्ष निकालिनेछ ।
फोनिजका महासचिव समीर बलामीका अनुसार सम्मेलनले नेपालसहित विश्वभरका आदिवासी मातृभाषा पत्रकारहरूबीच अनुभव आदानप्रदान, अन्तर्राष्ट्रिय सहकार्य, ज्ञान साझेदारी तथा साझा अभियान निर्माण गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नेछ । सम्मेलनबाट मातृभाषा पत्रकारिताको दिगो विकास, पत्रकारहरूको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय सञ्जाल विस्तारमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
सम्मेलनमा २७ देशका करिब ६० जना अन्तर्राष्ट्रिय मातृभाषी पत्रकार, फोनिजका देशभरका शाखाबाट करिब ३०० प्रतिनिधि तथा नेवाः पत्रकार राष्ट्रिय दबुबाट करिब ४० प्रतिनिधि, जातिय पत्रकार संगठनहरुबाट करिब १०० सहित कुल करिब ५०० जना मातृभाषी पत्रकार तथा सञ्चारकर्मीको सक्रिय सहभागिता रहने आयोजकले जनाएको छ । सम्मेलनमा विभिन्न देशका आदिवासी पत्रकार संगठनका प्रतिनिधि, सञ्चार विज्ञ, अनुसन्धानकर्ता, शिक्षाविद् तथा मानवअधिकारकर्मीहरूको समेत सहभागिता रहनेछ ।
सम्मेलन अवधिमा साउन २७ गते फोनिजको २७औँ स्थापना दिवस (वार्षिकोत्सव) विशेष कार्यक्रमका साथ मनाइनेछ । सो अवसरमा मातृभाषा पत्रकारितामा उल्लेखनीय योगदान पु¥याउने पत्रकार तथा सञ्चारकर्मीलाई फोनिज अवार्ड प्रदान गरिने कार्यक्रम पनि रहेको छ ।
फोनिजका अध्यक्ष लक्की चौधरीका अनुसार सम्मेलनको अन्त्यमा ‘काठमाडौं घोषणापत्र’ जारी गरिनेछ, जसमा मातृभाषा पत्रकारिताको संरक्षण, प्रवद्र्धन र संस्थागत विकासका लागि आवश्यक नीतिगत सुधार, भाषिक अधिकारको सुनिश्चितता, आदिवासी सञ्चार माध्यमको सुदृढीकरण तथा पत्रकारहरूको पेशागत सुरक्षासम्बन्धी साझा प्रतिबद्धता समेटिनेछ । साथै आदिवासी जनजातिका अधिकार, समसामयिक सवाल, मातृभाषा पत्रकारिताको अभ्यास, उपलब्धि, चुनौती र भावी कार्यदिशा समेटिएको फोनिज प्रतिवेदन समेत सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार यो सम्मेलन केवल एउटा औपचारिक कार्यक्रम मात्र नभई विश्वभर फैलिएका आदिवासी मातृभाषी पत्रकारहरूको साझा आवाजलाई सशक्त बनाउने, भाषिक तथा सांस्कृतिक विविधताको संरक्षणमा सञ्चार माध्यमको भूमिका थप प्रभावकारी बनाउने तथा लोकतान्त्रिक, समावेशी र बहुभाषिक सञ्चार प्रणाली निर्माणतर्फ महत्वपूर्ण कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।
सम्मेलनको तयारीका लागि नेवा पत्रकार राष्ट्रिय दबुसहित विभिन्न संघ संस्थाहरुसँग छलफल तथा बैठकहरु निरन्तर शुरु भइसकेको फोनिजका महासचिव समीर बलामीले बताएका छन् ।



S.K. Creative Media Group