धनगढी । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेलले सेती प्रादेशिक अस्पतालको आईसीयूमा अनसनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई भेट्नुभएको छ । भेटका क्रममा डा. केसीले अघि सारेका मागबारे छलफल भएको र ती मागका विषयमा भाेली विस्तृतमा सम्बन्धित निकायसँग आवश्यक छलफल गरिने बताइएकाे  छ ।

डा. केसीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसँग सम्बन्धित तीन बुँदे माग अघि सार्दै अनसन जारी राख्नुभएको छ । उहाँको पहिलो माग विश्वविद्यालयमा आवश्यक दरबन्दी व्यवस्थासहित ३०० शैय्याको शिक्षण अस्पताल तत्काल सञ्चालन गर्नुपर्ने रहेको छ । त्यस्तै, चालु शैक्षिक सत्रभित्रै एमबीबीएससहित मेडिकल शिक्षाको पठनपाठन सुरु गर्नुपर्ने उनको दोस्रो माग हो। तेस्रो मागमा विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको नियुक्ति स्वार्थ बाझिने गरी गरिएको दाबी गर्दै ती नियुक्ति तत्काल बदर गर्नुपर्ने उल्लेख गरिएको छ ।

डा. केसीले चिकित्सा शिक्षा सुधार र सुदूरपश्चिममा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका लागि यी माग तत्काल सम्बोधन हुनुपर्ने बताउनुभएको छ । सचिव पौडेलले डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै सरकार मागका विषयमा संवेदनशील रहेको बताउनुभयो । शिक्षा, स्वास्थ्य तथा सम्बन्धित निकायबीच समन्वय गरी मागको सम्बोधनका लागि आजै छलफल सुरु गरिने जानकारी दिएको स्रोतले जनाएको छ।

यसैबीच, अस्पतालका चिकित्सकका अनुसार डा. केसीको स्वास्थ्य अवस्था निरन्तर निगरानीमा राखिएको छ । आवश्यक उपचार र स्वास्थ्य परीक्षण भइरहेको तथा चिकित्सकहरूको टोलीले नियमित रूपमा स्वास्थ्य अवस्थाको मूल्यांकन गरिरहेको सेती प्रादेशिक अस्पतालका मेसु डा हेमराज पाण्डेले जानकारि दिनुभयो । डा केसीकाे उपचारका लागि फिजिसियन डाक्टर डा. गजेन्द्र दुवाललाई ताेकिएकाे छ ।

डा. केसीले चिकित्सा शिक्षा सुधार, सरकारी स्वास्थ्य संस्थाको सुदृढीकरण तथा सर्वसाधारणको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नुपर्ने माग राख्दै विगतदेखि नै विभिन्न चरणमा आन्दोलन गर्दै आएका छन् । यसपटक पनि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रभावकारी सञ्चालन र मेडिकल शिक्षाको विस्तारलाई मुख्य एजेन्डा बनाउँदै डा केसी धनगढीकाे राधाकृष्ण मन्दिरमा विहिबारबार देखि अनसनमा बस्नुभएको थियो । डा. केसीकाे स्वास्थ्यमा समस्या आएपछि सेतिकाे आईसियुमा भर्ना गरिएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय