प्यूठान । “प्राप्त अधिकारको रक्षा, आजको आवश्यकता : पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता” भन्ने मूल नाराका साथ ३२औँ विश्व आदिवासी दिवसको अवसरमा गौमुखी गाउँपालिका सभाहल, लिवासे प्यूठानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
गौमुखी गाउँपालिकाको कार्यालयको आयोजनामा तथा आदिवासी जनजाति सञ्जाल, गौमुखी गाउँपालिकाको समन्वयमा आयोजित कार्यक्रममा आदिवासी जनजाति समुदायको हक, अधिकार, पहिचान तथा संवैधानिक अधिकारको कार्यान्वयनका विषयमा व्यापक छलफल तथा अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि डा. भोजविक्रम बुढा मगरले संवैधानिक अधिकार कार्यान्वयनका लागि उचित प्रबन्ध हुन नसक्दा आदिवासी जनजाति समुदायको हक–अधिकार सुनिश्चित हुन नसकेको बताउनुभयो। उहाँले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ तथा आदिवासी जनजाति आयोग ऐन, २०७४ लगायतका कानून आदिवासी जनजातिको हकहितका लागि निर्माण भए पनि व्यवहारिक रूपमा प्रभावकारी कार्यान्वयन हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो ।
उहाँले प्यूठान जिल्लाका नौ स्थानीय तहमध्ये सातवटा स्थानीय तहमा आदिवासी जनजातिको उल्लेख्य/बहुसंख्यक उपस्थिति रहे पनि गौमुखी गाउँपालिकाले मात्र विश्व आदिवासी दिवस मनाएको उल्लेख गर्दै यस्ता कार्यक्रमले समुदायको पहिचान र अधिकारका विषयलाई थप उजागर गर्न सहयोग पुग्ने बताउनुभयो ।
त्यसैगरी गौमुखी गाउँपालिका उपाध्यक्ष महावीर राना मगरले आफूहरू जुनसुकै राजनीतिक दलमा आबद्ध भए पनि आदिवासी जनजातिको आधारभूत हक–अधिकार सुनिश्चित गर्न नेतृत्वदायी भूमिकामा पुग्न आवश्यक रहेको बताउनुभयो। उहाँले राजनीतिक तथा सामाजिक नेतृत्वमा आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उपस्थित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले पनि आदिवासी जनजातिको उत्थान, पहिचानको संरक्षण र अधिकार सुनिश्चितताका लागि आफ्ना राजनीतिक दलहरू सदैव सकारात्मक र प्रतिबद्ध रहेको धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा गौमुखी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत घनश्याम अर्याल, वडा नं. १ का अध्यक्ष डिलबहादुर थापा मगर, वडा नं. ३ का अध्यक्ष जंगबहादुर पुन मगर, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति बाबुराम केली, नेपाली कांग्रेसका सभापति मधुराम के.सी., नेकपा एमालेका अध्यक्ष जुमानसिंह जिसी, नेकपा अध्यक्ष रमेश राना मगर, नेपाल मगर संघ प्यूठानका सदस्य गोवर्धन थापा मगर, मित्र थापा लगायत जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, आदिवासी जनजाति अगुवा तथा स्थानीयको उपस्थिति रहेको थियो ।
चन्द्रबहादुर के.एम.को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मोहनबहादुर पुनले गर्नुभएको थियो । कार्यक्रममा आदिवासी जनजाति समुदायको सांस्कृतिक पहिचान झल्काउने विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको थियो ।
अन्तरक्रियाले आदिवासी जनजातिको पहिचान, अधिकार, प्रतिनिधित्व, सामाजिक न्याय र समावेशी सहभागिताका विषयमा स्थानीयस्तरमा थप बहस र जागरण सिर्जना गरेको सहभागीहरूले बताएका छन् ।


S.K. Creative Media Group