देउखुरी। गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालको टोलीलाई लुम्बिनी प्रदेश सभामा स्वागत गरिएको छ । अन्तर प्रदेश भ्रमणमा रहनुभएको गण्डकी प्रदेश सभामुख धितालसहितको टोलीलाई बुधवार लुम्बिनी प्रदेश राजधानी भालुवाङमा सभामुख तुलाराम घर्तीमगर, उपसभामुख मेनका खाड केसीसहितको टोलीले स्वागत गर्नुभएको हो।

गण्डकीका सभामुख धितालले लुम्बिनी प्रदेश सभाको सभा हलको पनि अवलोकन गर्नुभएको थियो । सभा हलको अवलोकन गर्दै सभामुख धितालले लुम्बिनी प्रदेश सभाको भौतिक संरचना बेलायती मोडेल भएको बताउनुभयो । आफूले अस्ट्रेलियाको संसद् मोडेल हेरेको र त्यहाँको संघीयतामा भन्दा नेपाली मोडेल नयाँ र बढी समावेशी रहेको दाबी गर्नुभयो।

गण्डकीका सभामुखलाई स्वागत गर्दै लुम्बिनीका सभामुख घर्तीमगरले प्रदेश सभा र स्थानीय तहलाई जोड्ने उद्देश्यले स्थानीय तहसंग प्रदेश सभा, प्रदेश सभामा विद्यार्थी पहुँच कार्यक्रम गरिएको उल्लेख गर्नुभयो ।

गण्डकी प्रदेश सभाका सचिव हरिप्रसाद पोख्रेलले लुम्बिनी प्रदेशबाट सिक्नुपर्ने कुरा धेरै भएको बताउनुभयो । कर्मचारीको अभावकाबीच पनि प्रदेश सभाको काम कारबाही राम्रो गरेको उहाँले सुनाउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय