प्यूठान । जिल्लाका प्रमुख व्यापारिक केन्द्र बाग्दुला र बिजुवार बजारमा शनिबार सरसफाइ अभियान सञ्चालन गरिएको छ। ‘हाम्रो अभियान, स्वच्छ र सुरक्षित प्यूठान’ भन्ने नारासहित बजार क्षेत्र, मठमन्दिर, सार्वजनिक प्रतीक्षालय र धारालगायतका स्थानमा सरसफाइ गरिएको हो।

प्यूठान नगरपालिका–८, बाग्दुला बजार क्षेत्रमा प्यूठान उद्योग वाणिज्य संघ, प्यूठान नगर बजार क्षेत्र र बाग्दुला युथ क्लबको संयुक्त आयोजनामा सरसफाइ गरिएको थियो। अभियानमा बजारको फोहोर व्यवस्थापन र स्वच्छ वातावरण निर्माणमा जोड दिइएको थियो।

प्यूठान नगरपालिकाका उपप्रमुख देवेन्द्र वर्माले बजारलाई सफा, व्यवस्थित र सुरक्षित राख्न सरसफाइ अभियानले महत्त्वपूर्ण सन्देश दिएको बताउनुभयो।

उद्योग वाणिज्य संघ प्यूठानका अध्यक्ष सन्देश आचार्यले फोहोरको उचित व्यवस्थापन गर्दै सरसफाइ अभियानलाई नियमित गर्दै स्वच्छ वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो।

यसैगरी, नेवा खलः बिजुवार र इलाका प्रहरी कार्यालय बिजुवारको संयुक्त आयोजनामा बिजुवार बजार क्षेत्रका मठमन्दिर, सार्वजनिक प्रतीक्षालय, धारा तथा अन्य सार्वजनिक स्थानमा सरसफाइ गरिएको छ।

दुवै अभियानमा जनप्रतिनिधि, प्रहरी, उद्योगी, व्यवसायी तथा स्थानीयवासी सहभागी भएका थिए। बजार र सार्वजनिक स्थललाई स्वच्छ तथा व्यवस्थित बनाउनुका साथै समुदायमा सरसफाइ र सामाजिक उत्तरदायित्वप्रतिको चेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय