प्यूठान । बडादसैँको सातौँ दिन आज आश्विन शुक्ल सप्तमीका अवसरमा देशभरका घरघरमा फूलपाती भित्र्याइँदै छ। दसैँको प्रमुख धार्मिक अनुष्ठानका रूपमा लिइने फूलपाती भित्र्याएसँगै नेपालीको घरआँगनमा दसैँको रौनक थप बढ्ने गर्छ।

नवरात्रको सातौँ दिन नवदुर्गामध्येकी कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ। वैदिक विधिअनुसार आज अपराह्नकालमा फूलपाती भित्र्याइन्छ। घटस्थापनादेखि दुर्गाको आराधना गरिँदै आएको दसैँघर तथा पूजा कोठामा फूलपाती भित्र्याएपछि दसैँका धार्मिक अनुष्ठानले थप महत्त्व पाउने धार्मिक विश्वास छ।

कालरात्रिलाई कालमाथि समेत विजय प्राप्त गर्ने देवीका रूपमा आराधना गरिन्छ। विभिन्न पुराणमा उनको स्वरूप कृष्णवर्ण र भयङ्कर आकृतिको रहेको वर्णन पाइन्छ। नवरात्रमा कालरात्रि देवीको पूजा गर्नाले भय, सङ्कट र नकारात्मक शक्तिबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ।

वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गाका नौ स्वरूपको विशेष पूजा आराधना गर्छन्। घटस्थापनाका दिन जमरा राखेर सुरु हुने नवरात्रमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गर्ने परम्परा छ।

नवरात्रभर दसैँघर तथा पूजा कोठामा दुर्गा सप्तशती अर्थात् चण्डी, श्रीमद्देवीभागवत र विभिन्न देवी स्तोत्रको पाठ गरिन्छ। यस अवधिमा देशभरका शक्तिपीठमा दर्शन तथा पूजा आराधना गर्न भक्तजनको चहलपहल बढ्ने गर्छ।

नौ दिनसम्म देवीको पूजा आराधना गरेपछि विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने चलन छ। धार्मिक आस्था, पारिवारिक मिलन र आपसी सद्भावको पर्वका रूपमा मनाइने बडादसैँ नेपालीको प्रमुख सांस्कृतिक पर्वसमेत हो।

Photo: AI

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय