धादिङ । पाँच–छ महिनादेखि ज्याला नपाएपछि दशैंमा घर फर्किन नसकेका १२ निर्माण मजदुरलाई धादिङको नीलकण्ठ नगरपालिकाले मासुसहित खाद्यान्न सहयोग गरेको छ।

नीलकण्ठ नगरपालिका–३ र १२ जोड्ने थोपल खोला पक्की पुल निर्माणमा खटिएका मजदुरलाई नगरपालिकाले दाल, चामल, तरकारी र मासु उपलब्ध गराएको हो। ज्याला नपाउँदा घर जाने गाडीभाडासमेत जुटाउन नसकेका उनीहरू चाडपर्वमा कार्यस्थलमै बस्न बाध्य भएका छन्।

३६ जनाको टोलीमध्ये २४ जना ऋण लिएर तथा घरबाट पैसा मगाएर दशैं मनाउन फर्किए पनि सल्यानका सात, बाँकेका दुई, सुर्खेतका दुई र गोरखाका एक गरी १२ जना मजदुर धादिङमै रोकिएका छन्।

नगरभित्र काम गरिरहेका मजदुर चाडबाडमा खाद्य संकटमा परेको थाहा पाएपछि सहयोग गरिएको नगर प्रमुख भीमप्रसाद ढुंगानाले बताउनुभयो। परिवारसँग दशैं मनाउन नपाए पनि कार्यस्थलमै खानपानको व्यवस्था होस् भन्ने उद्देश्यले खाद्यान्न वितरण गरिएको उहाँको भनाइ छ।

खाद्यान्न सहयोगले तत्कालको छाक टार्ने चिन्ता हटे पनि मजदुरहरूले लामो समयदेखि रोकिएको ज्याला भुक्तानी गराइदिन आग्रह गरेका छन्। सल्यानका मजदुर अम्मर कार्कीले भन्नुभयो, “हाम्रो ज्याला दिलाइदिएर हामीलाई घर पठाइदिनुहोस्।”

पुल निर्माणमा काम गर्ने मजदुरले ज्याला नपाउँदा चाडपर्वमा समेत घर फर्किन नसकेको मजदुरले बताउनुभएको छ । मजदुरका अनुसार राहतसँगै आफ्नो मेहनतको पारिश्रमिक पाउने वातावरण बनाइदिन समेत अनुरोध गरेका छन । फोटो: AI

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय