सागर रिजाल
प्यूठान । प्यूठानको ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र ऐरावती गाउँपालिका–६ स्थित बिजुलीकोट खड्ग भगवती मन्दिरमा आज महानवमीका अवसरमा परम्परागत मेला लाग्दैछ।
हरेक वर्ष बडादसैँको महानवमीका दिन लाग्ने यस मेलामा सयौँ भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ। देवीको दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनका कारण मन्दिर परिसरमा धार्मिक रौनक छाउने गर्दछ ।
खड्ग भगवती देवीप्रति श्रद्धा राखी भाकल गर्ने र पूजा–आराधना गर्दा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । त्यसैले महानवमीका दिन यहाँ देवीको दर्शन तथा पूजाआराधना गर्न भक्तजन आउने परम्परा रहि आएको छ ।
यस मन्दिरको प्रमुख विशेषता खड्ग भगवती देवीलाई कोटघरबाट बाहिर ल्याई मौलोको परिक्रमा गराएर भक्तजनलाई दर्शन गराउने परम्परा हो ।
पुजारीले देवीका प्रतीकस्वरूप रहेका तरबार आकारका वस्तु हातमा लिएर धार्मिक विधिअनुसार नचाउने प्रचलनसमेत रहेको छ । यहीँ परम्पराले बिजुलीकोटको धार्मिक तथा सांस्कृतिक पहिचानलाई विशिष्ट बनाएको बताइन्छ ।
मेलाको अवसरमा स्थानीय मौलिक संस्कृति झल्काउने झाँकी तथा सराय नाचसमेत प्रस्तुत गरिनेछ । परम्परागत सराय नाच र स्थानीय झाँकीले मेलाको आकर्षण बढाउनुका साथै प्यूठानको सांस्कृतिक पहिचान र मौलिक परम्पराको संरक्षणमा योगदान पुर्याउने विश्वास गरिएको छ ।
धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको बिजुलीकोट खड्ग भगवती मन्दिर प्यूठानको महत्त्वपूर्ण धार्मिक स्थल हो । यो मेला हेर्न प्यूठान सहित छिमेकी जिल्ला अर्घाखाँची, गुल्मी,दाङ लगायतका स्थानबाट भक्तजनहरु उपस्थिति हुने गर्दछ ।
महानवमीमा लाग्ने मेलाले स्थानीय समुदायबीच आपसी सद्भाव, एकता र सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउँदै आएको छ ।
यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई प्रचारप्रसार गर्न सके बिजुलीकोटलाई जिल्लाको आकर्षक धार्मिक तथा सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ ।
आज बिहान ९:३० बजे देवता निकालिने व्यवस्थापन समितिले जानकारी दिएको छ ।



S.K. Creative Media Group