प्युठान । बडादसैँको मुख्य दिन विजयादशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ। आज मान्यजनको हातबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान १०:२६ बजे टीका लगाउन उत्तम साइत रहेको छ। विजयादशमी आफैँमा शुभ दिन भएकाले सर्वसाधारणले टीका लगाउन साइत पर्खनु नपर्ने समितिले जनाएको छ। देवी विसर्जनको साइत भने बिहान ८:४९ बजे रहेको छ।

घटस्थापनादेखि नौ दिनसम्म पूजा आराधना गरी उमारिएको जमरा र नवदुर्गाको प्रसादस्वरूप टीका लगाएर मान्यजनबाट सुख, शान्ति, समृद्धि र दीर्घायुको आशीर्वाद लिने चलन छ।

धर्मशास्त्रीय मान्यताअनुसार आज टीका लगाइमाग्ने व्यक्ति पश्चिम र लगाइदिने व्यक्ति पूर्व फर्केर बस्ने परम्परा छ। चन्द्रमा कुम्भ राशिमा रहेकाले यस्तो दिशा निर्धारण गरिएको धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले बताउनुभयो ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमीमा परिवार तथा आफन्तजन बीच भेटघाट, शुभकामना आदानप्रदान र आशीर्वाद ग्रहण गरिन्छ।

विजयादशमीका दिन पुरुषलाई दीर्घायु, ऐश्वर्य, शौर्य, बल, दानशीलता, ज्ञान र कीर्तिको कामना गर्दै परम्परागत मन्त्रबाट आशीर्वाद दिने चलन छ। महिलालाई दुर्गा भवानीका विभिन्न स्वरूपको स्मरण गर्दै सुख, शान्ति, शक्ति र समृद्धिको कामना गरिन्छ। आज टीका लगाउन नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्ने परम्परा छ। फोटो:AI

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय