वासुदेव गिरी
प्युठान । प्युठानको भिग्री-स्वर्गद्वारी-होलेरी सडकको भिग्री- स्वर्गद्वारी खण्डमा सडक तथा ट्राफिक सुरक्षाका काम धमाधम भैरहेको छ । भिग्री-स्वर्गद्वारी सडक खण्डमा सडक सुरक्षाको हिसाबले बर्सेनि जोखिम बढेको भन्दै सडक दुर्घटना न्यूनीकरण गर्न यस खण्डमा सडक सुरक्षा र ट्राफिक सुरक्षाको निर्माणकार्य सडक डिभिजन प्युठान मार्फत थालिएको हो ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय सडक बिभाग मार्फत ७ करोड ८९ लाख ४ हजार ५ सय १७ रुपैयाँको लागतमा सडक तथा ट्राफिक सुरक्षाका काम भैरहेको सडक डिभिजन प्युठानका प्रमुख सिनियर डिभिजन इन्जिनियर राजिव श्रेष्ठले जानकारी दिनुभयो ।
ठेक्का मार्फत भिग्री-स्वर्गद्वारी-होलेरी सडकको भिग्री-स्वर्गद्वारी सडक खण्डमा सडक बढी जोखिम भएकोले यस क्षेत्रमा निर्माण कार्य भैरहेको सिनियर डिभिजन इन्जिनियर श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार निर्माण कम्पनीले ठेक्का सम्झौता अनुसारको कामलाई अगाडि बढाएको छ। कामको गति हेर्दा समयमै सक्ने स्थिति देखिन्छ। उहाँले भन्नुभयो, “कार्यालयले आवस्यक सहजीकरण र अनुगमन निरीक्षण गरिरहेका छौं।”
साइटमा कार्यालयले खटाएका प्राविधिक कर्मचारी साइट इन्चार्ज लागाएतका टिमले काम हेरिरहनुभएको छ। उहाँले भन्नुभयो, “निर्माण कम्पनीले आफ्ना प्राबिधिक कर्मचारी र साइट इन्चार्ज पनि राखेको छ ।” कम्पनी र कार्यालय बिच सहकार्य र परामर्श गरेर निर्माणको काम भैरहेको श्रेष्ठले बताउनुभयो । हालसम्म करिब २० प्रतिशत काम सकिएको श्रेष्ठले जानकारी दिनुभयो ।
सडक निर्माणको जिम्मा निर्माण कम्पनी ड्रामा-जलजला-रेड-अर्थ जेभिले मिति २०८० असोज २२ गते ठेक्का सम्झौता भएर २०८१ असार २२ गते सम्म निर्माणकार्य सम्पन्न गर्ने गरी भ्याट बाहेक ७ करोड ८९ लाख ४ हजार ५ सय १७ रुपैयाँको लागतमा कार्यालय र निर्माण कम्पनी बिच सम्झौता भएको छ । दुर्घटनाको हिसाबले अत्याधिक जोखिम भएको भिग्री- स्वर्गद्वारी खण्डको विभिन्न स्थानमा सडक तथा ट्राफिक सुरक्षा(सडक सुरक्षा पर्खाल) ‘W’ वि क्र्याश ब्यारियार, थमोप्लास्टिक पेन्ट र स्ल्यव कल्भर्ट, पलम कंक्रीट बाल, ग्याबिन वाल, नाली लगायतको संरचना निर्माण भैरहेको कार्यालयले जानकारी दिएको छ । भिग्री- स्वर्गद्वारी खण्ड १४ किलोमीटर सडक रहेको छ। यो सडक खण्डको करिब ६ किलोमीटरमा स्टिलको क्र्याश ब्यारियर राख्ने लागत अनुमानमा रहेको कार्यालयको भनाइ छ ।
सम्झौता अवधि भित्रै काम सक्ने गरि निर्माणको कामलाई तिब्रता दिएको निर्माण कम्पनीका संचालक लोकेन्द्र डाँगीले जानकारी दिनुभयो। डाँगीका अनुसार अहिले साइटमा ग्रुप, ग्रुप बनाएर निर्माण कार्य भैरहेको बताउनुभयो। “अबको ४ महिना भित्र सबै काम सक्ने लक्ष्य लिएर अगाडि बढेका छौं।” उहाँले भन्नुभयो, “लक्ष्य अनुसार अन्य कुनै समस्या नभए काम छिटै सक्छौं।” यसमा कुनै शंका छैन उहाँले भन्नुभयो ।
धार्मिक पर्यटकीय हिसाबले निकै महत्त्वपूर्ण मानिने स्वर्गद्वारी मन्दिर पुग्ने उक्त सडकमा आन्तरिक तथा वाह्य पर्यटकहरुको प्रायजसो घुइँचो लाग्ने गर्छ। वाह्य तथा नयाँ चालकलाई सडकको अवस्था जानकारी नहुदा ओरालो सडकमा प्राय ब्रेक फेल भएर दुर्घटना हुने गरेको अनुसन्धानले देखाएको छ । ओरालोमा ब्रेक लगाइरहने भएको कारण ब्रेक हिट भएर फेल हुने गरेको बताइन्छ । अहिले पछिल्लो समय उक्त सडकमा प्रहरीले बिचमा आधा घन्टा सवारी साधनलाई रोकेर पढाउने गरिएको प्युठान प्रहरीले जानकारी दिएको छ ।