विराटनगर । लक्ष्मीपूजाको दियोले मोरङको एक सुनपसलमा आगलागी भएको छ । मोरङको उर्लाबारी नगरपालिका– ७ मा रहेको दीपक कार्कीको घरमा सञ्चालित एक सुन पसलमा आइतवार राति आगलागी हुँदा कम्तीमा २२ जना घाइते भएका हुन् ।
लक्ष्मीपूजा गर्दा सल्किएको आगो निभाउन जाने क्रममा प्रहरी र स्थानीयसहित २२ जना घाइते भएको मोरङ प्रहरीले जनाएको छ । उर्लावारीमै कार्यरत ४ जना प्रहरी उद्घारको क्रममा घाइते भएका थिए । सुन पसलमा लागेको आगो निभाउने क्रममा सटर खोल्दा आगोको मुस्लोले भेटेपछि उनीहरू घाइते भएको स्थानीयले बताएका छन् ।
घाइतेहरूमध्ये १० जनाको झापाको बिर्तामोडमा उपचारका लागि पठाइएको छ । यस्तै ९ जनाको विराटनगर, २ जनाको उर्लाबारीकै गोदावारी तथा १ जनाको अरनिको अस्पतालमा उपचार भइरहेको छ । करिब ३ घन्टापछि मध्यरात १२ बजे आगलागी नियन्त्रणमा आएको थियो ।
त्यस्तै लक्ष्मीपुजाका लागि जलाईएको दियोबाट सल्केर बाँकेको खजुरामा एक हार्डवेयर पसलमा आलागी भएको छ । खजुरा-५, धनौली नजिकैको एक पसलमा आज आगलागी भएको हो ।
लक्ष्मीपुजा गर्न जलाईएको दियोबाट सल्केको आगोले धनौलीको बर्मा हार्डवेयरमा आगलागी भएको धनौली प्रहरीले जनाएको छ । आगलागीबाट पसलमा रहेको पेन्ट, सिमेन्ट तथा निर्माण सामाग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक अशोक मल्लले बताउनुभयो ।
आगलागीबाट ६ लाख बढीको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । स्थानीयबासी र प्रहरीले झण्डै २ घण्टा लगाएर आगो निभाएका थिए ।