काठमाडौं । मंसिर ७ गते युवा संघले काठमाडौंमा गर्ने भनिएको वृहत जनप्रदर्शनको स्वामित्व पार्टी नेतृत्व नेकपा एमालेले स्वामित्व लिएको छ । आज (शनिबार) केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहितका नेता सहभागी भेलाले मंसिर ७ को प्रदर्शनको स्वामित्व पार्टीले लिएको हो ।
जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको २३ वटै संगठनका पदाधिकारी र सम्पर्क समन्वय समिति लगायतका सदस्यको विशेष भेलाले सबै शक्ति मंसिर ७ को प्रदर्शनमा केन्द्रित गर्ने घोषणा गरेको छ ।
भेलामा संयन्त्रका इञ्चार्ज भानुभक्त ढकालले मंसिर ७ को प्रदर्शन राजनीतिक मिसनमा आधारित रहेको जानकारी दिनुभयो । उहाँले कतिपयले व्यक्तिको लडाइसँग जोडेको भन्दै आपत्ति समेत जनाउनुभयो । उहाँले भन्नुभयो, ‘यो व्यक्तिसँग जोडिएको लडाइँ होइन, पार्टीकै कार्यक्रम भएकाले सबै शक्ति लगाइने छ ।’
यस्तै यहि सन्देश दिन अध्यक्ष र महासचिवसहितको विशेष बैठक राखिएका संयन्त्रकी उपप्रमुख रचना खड्काले बताउनुभयो । मुलुकमा व्याप्त बेथिती, भ्रष्टाचार र सत्ताको ज्यादतिविरुद्ध एमालेको विरोध प्रदर्शन रहेको उहाँको भनाइ छ । भेला जाजरकोट भूकम्प प्रभावितका लागि स्वंसेवी अभियान, मध्यपहाडी यात्रा र मंसिर ७ को प्रदर्शनका लागि छलफल गर्न आयोजना गरिएको उहाँले जानकारी दिनुभयो।