प्यूठान । आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन श्रीरामको पुजा आरधना गरि देशभर राम नवमी पर्व मनाइँदै छ ।
राम जयन्तीका नामले पनि परिचित राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा लिइन्छ। हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ । हरेक वर्षको चैत शुक्ल नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान रामचन्द्रको स्मरण गरिन्छ ।
त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । रामनवमीमा नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा छ । मिथिला क्षेत्रमा रामनवमीको अझै बढी महत्व रहेको छ ।
देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै घरघरमा वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले मर्यादा पुरुषोत्तम श्रीरामको श्रद्धा, भक्तिपूर्वक पूजा आराधना गरी राम नवमी पर्व मनाउँने चलन रहेको छ।
प्युठानमा पनि विभिन्न राम मन्दिर तथा शक्ति पिठहरुमा पुजा गर्नेको घुइँचो रहेको छ । राम नवमी पर्वको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा समेत दिएको छ।
धार्मिक शास्त्रअनुसार भगवान् श्ररिामले परिवार, समाज र राज्यभित्र कायम हुनुपर्ने सबै मर्यादाको कायम गरेका कारण उहाँलाई मर्यादा पुरुषोत्तम भनिएको हो । राम राज्यका नामले परिचित भगवान् रामको राज्य न्यायका लागि नमूना मानिन्छ ।