इलाम । इलाम- २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उमेदवार सुहाङ नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतको अन्तरले पराजित गर्दै सुहाङ नेम्वाङ विजयी हुनुभएको हो ।

बैशाख १५ गते शनिबार भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले २७ हजार ७ सय ७२ मत ल्याउनुभयो भने कांग्रेसका खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गर्नुभयो भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले ५ हजार ५० मतमा प्राप्त गर्नुभयो । इलाम-२ को रिक्त उपनिर्वाचनमा १९ जना उमेदवारहरु चुनावी मैदानको उत्रिएका थिए ।

२०७९ सालको निर्वाचनमा प्रतिनिधिसभातर्फ इलाम- २ बाट निर्वाचित हुनुभएका सुवासचन्द्र नेम्वाङ र बझाङ प्रदेशसभा-१ बाट निर्वाचित हुनुभएका पृथ्वीबहादुर सिंहको निधन भएपछि यी क्षेत्रहरू रिक्त भएका थिए । निर्वाचन आयोगले रिक्त यी दुई स्थानको लागि शनिबार उपनिर्वाचन गराएको थियो ।

बझाङ प्रदेशसभा-१ बाट पनि एमालेकै उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २ सय ६७ मतले पराजित गर्दै भण्डारी हिजो नै निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर