इलाम । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणामले आजको मात्र होइन, भोलिको पनि सङ्केत गरेको बताउनुभएको छ ।

नेकपा (एमाले) इलामले मंगलबार आयोजना गरेको इलाम– २ को विजय सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अनेक प्रकारका भ्रमलाई चिर्दै नेपाली जनता नेकपा (एमाले)को पक्षमा उभिएको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो,”यो चुनाव चुनाव मात्र होइन, राष्ट्र निर्माणमा एउटा इँटा थप्ने कुरा हो, एउटा सिँढी थप्ने कुरा हो ।”
नेपालमा बस्नेहरूको सबैभन्दा पहिलो पहिचान नेपाली भएको बताउँदै अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नै नेपालीको पहिचान र साझा गन्तव्य बन्नुपर्ने स्पष्ट पार्नुभयो ।
व्यक्तिगत होइन, सामूहिक पहिचानले मात्र देश अघि बढ्नेमा उहाँले जोड दिनुभयो । नेपालको पहिचान बहुजाति र बहुभाषा भएको र व्यक्तिगत पहिचानले कोही सफल हुन नसक्ने बताउनुभयो ।

अध्यक्ष ओलीले अबको २५ वर्षमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको एक सय वर्ष हुने र त्यसबेलासम्ममा कुनै पनि नेपाली गरिब अवस्थामा नरहने भनाइ राख्नुभयो ।

इलामले एमालेका सुहाङलाई जिताएको भन्दै अब इलामको विकासको जिम्मा सुहाङले लिने र सुहाङको जिम्मा नेकपा (एमाले) र आफूले लिने उहाँले स्पष्ट पार्नुभयो ।

एमालेले चुनावी कार्यक्रममा बोलेका कुरा पुरा गरेर छाड्ने स्पष्ट गर्दै अध्यक्ष ओलीले विकास, सुशासन, विदेश नीति कस्तो बनाउने भन्ने नीति र कार्यक्रम नेकपा (एमाले)सँग मात्र भएको बताउनुभयो ।

देशमा बलियो र निर्णायक राष्ट्रिय शक्ति आवश्यक रहेको हुँदा त्यसका लागि एमाले परिवर्तनका पक्षधरसँग मिलेर अघि बढ्न तयार रहेको उहाँले बताउनुभयो । यति बेला देशभक्त शक्तिको एकता आवश्यक रहेको अध्यक्ष ओलीले प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर