काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेले मिसन २०८४ त्यतिकै नभनेको स्पष्ट पार्नुभएको छ ।

नेकपा एमाले नवलपरासीको नवौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले मिसन २०८४ महान उद्देश्य राखेर घोषणा गरिएको अभियान भएको बताउनुभयो । “हाम्रो देशको सार्वभौमसत्ताको रक्षा गर्नुपर्ने छ, स्वाधीनता, स्वतन्त्रताको रक्षा गर्नुपर्ने छ, हाम्रो भूमिको रक्षा गर्नुपर्ने छ”, उहाँले भन्नुभयो ।

आज आफूले सुस्ता पनि घुमेको बताउँदै ओलीले २०२५ सालदेखि सुस्ता नेपाली भूमि हो, भारतीयलाई सुस्ता छाड भनेर भन्दै आएको स्मरण गराउनुभयो । त्यतिखेर देशका लागि कुरा उठाउँदा समेत आफूहरू माथि मुद्दा चलाएको उहाँले स्मरण गर्नुभयो ।

नेकपा एमाले सधैँ राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता र सार्वभौमसत्ता रक्षाको पक्षमा लड्ने पार्टी भएको उहाँले बताउनुभयो । “देशको सिमानालाई लिएर आवाज उठाउने जिम्मा हाम्रो काँधमा परेको जस्तो छ”, उहाँले भन्नुभयो ।

लिम्पियाधुरा, लिपुलेक नेपालको नक्सामा समेटेर त्यो भूमि हाम्रो हो, हामीले फिर्ता पाउनु पर्छ, कब्जा गरिएको भूमि छाड्नु पर्छ भन्ने जिम्मा पनि एमालेकै काँधमा आएको र त्यो गरेको उहाँले स्मरण गराउनुभयो । “अरू कसैले उठाउँदैनन्, सत्तामा जान पाइँदैन कि भनेर, बस्न पाइँदैन कि भने”, उहाँले भन्नुभयो ।

जनता र देशका निम्ति काम नगर्ने हो भने राजनीति के का लागि गर्ने ? भन्दै उहाँले प्रश्न गर्नुभयो । आफूले ५६ वर्षदेखि सुस्ता लगायतको नेपाली भूमि फिर्ता हुनुपर्छ भन्ने आवाज लगातार उठाइरहेको ओलीले बताउनुभयो ।

पार्टीले लिएको गन्तव्यमा कसरी पुग्ने भन्ने कुरामा ध्यान केन्द्रित गर्न ओलीले नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले पार्टीले लिएका सही नीति र कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर मात्र सही गन्तव्यमा पुगिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय