प्यूठान । अहिले मुलुक बजेट निर्माणको चरणमा अघि बढेको छ । संघीय सरकारले बनाउने बजेट सम्वन्धि विभिन्न चरणका छलफल तथा परामर्श तीव्र रुपमा चलिरहेको छ । प्यूठानबाट प्रतिनिधिसभामा निर्वाचित सांसद सूर्य थापा अहिले विभिन्न छलफल तथा परामर्शमा व्यस्त हुनुहुन्छ ।
संसदको अर्थ समितिका सदस्य समेत रहनुभएका थापाले बजेटका सम्वन्धमा सुझाव र परामर्श लिने क्रम जारी रहेको बताउनुभयो । विभिन्न चरणको छलफलमा विज्ञ देखी अरु क्षेत्रबाट सुझावहरु आइरहेको उहाँको भनाई छ । प्राप्त सुझावहरुको अध्ययन र विश्लेषण गरि समितिले अर्थमन्त्रीलाई लिखित रुपमा पेश गर्ने सांसद थापाले जानकारी दिनुभयो ।
प्यूठानका योजनाको लागि पहल
प्रतिनिधिसभा सदस्य थापाले प्यूठानका योजनाहरु बजेट तथा कार्यक्रममा समेट्नका लागि पहल गर्दै आएको बताउनुभएको छ । केहि समय जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुनुभएका थापाले संघीय सरकार मार्फत हुने ठूला योजना अगाडी बढाउन आफूले पहल गर्दै आएको बताउनुभएको हो ।
बाग्दुला–भिमगिठे सडक निर्माण, भालुवाङ–प्यूठान सडक डबल लेन, चाल्नेटार विमानस्थल निर्माण, नौमुरे जलविद्युत, लुंग्री माडी सिंचाइ लगायतका योजनालाई प्राथमिकता दिएर अघि बढाउन पहल भैरहेको बताउनुभयो ।
सांसद थापाले प्यूठान जिल्लालाई आगामी आर्थिक वर्षमा पूर्ण रुपमा विद्युतीकरण भएको जिल्ला घोषणा गर्ने कार्यक्रम अघि बढाउन लागिएको बताउनुभयो ।