काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २,५६८औं जयन्ती आज मनाइँदै छ । भगवान विष्णुको नवौं अवतारका रूपमा जन्मिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी दिवस मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ ।

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ। आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ ।

इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।

राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बन्नुभयो । त्यसपछि सिद्धार्थ गौतम २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि बनबास निस्किनुभएको थियो।

राष्ट्रपति रामचन्द्र पौडेलले महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु गौरवको विषय भएको बताउनुभएको छ ।

२५६८औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना दिनुहुँदै राष्ट्रपति पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबिच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सकिने विश्वास लिएको बताउनु भएको छ ।

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा बुधबार लुम्बिनीस्थित मायादेवी मन्दिरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दीप प्रज्वलन गर्नुभयो थियो ।

बुद्ध जयन्तीको अवसरमा भारतीय दूतावास र लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा लुम्बिनीमा आयोजित फोटो प्रदर्शनी तथा सांस्कृतिक साँझलाई पनि प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुभएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय रहेको बताउनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय