सल्यान । सल्यानको कुपिण्डे तालमा डुबेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका-८ मार्के आरामेलटाकुराकी ३० वर्षीया कमला कुवरको कुपिण्डे तालमा डबेर मृत्यु भएको हो ।
बिहिवार बिहानै आफन्तसंग पुजा गर्नको लागि कवर कुपिण्डेताल नजिकै बराह मन्दिरमा गएकी र देवता चढेको भनी तालमा हाम फाल्दा कवर तालमा डुवेको पुजारी कुल बहादुर गोसाईको भनाइ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
तालमा डुबेकी कुवरलाई आफन्त र स्थानीयले उद्धार गरेका थिए । उद्धार पछि उपचारका लागि सल्यान जिल्ला अस्पताल लगिएकोमा डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले बताउनुभयो ।
घटनाको थप अनुसन्धान भई रहेको र मृत्यु भएकी महिलाको शव जिल्ला अस्पताल सल्यानमै पोष्टमार्टमको लागि राखिएको प्रहरीको भनाई छ ।