
शरद विष्ट
भिंगृ । २०७३ सालमा स्वर्गद्धारी नगरपालिकाको माडी नदी माथी भिंगृ–जुलुके–नल्सी पक्की पुल बनाउन सम्झौता भयो । पक्की पुल निर्माण हुने भन्दै स्थानीय खुशी भए । तर ८ वर्ष पहिले सम्झौता भएर काम शुरु भएको पुल अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन ।
विभिन्न कारण देखाउँदै निर्माण कम्पनी मृत संजिवनी लोहनी एण्ड ब्रर्दश जेभीले म्याद थप गर्दै आएको छ । पुल निर्माण समयमै नहुँदा स्थानीय निराश छन् ।
निर्माण व्यवसायीको लापरबाही र ढिलासुस्तीले पुल अलपत्र स्थानीयले गुनासो गरेका छन । व्यवसायीले पुल निर्माण सम्पन्न गर्नतिर अग्रसरता नदेखाएको स्थानीय बताउँछन् । वर्षातको समयावधिमा निर्माण कार्यमा समस्या आउने हुनाले त्यो समयमा काम रोक्ने र हिउँद लागेपछि पनि काम सञ्चालनमा नआउदा यसरी पुल अलपत्र परेको छ ।
केही दिन काम गरेजस्तो गर्ने र आएका कामदारहरूले पनि ज्याला समयमा नपाउने भएकोले उनिहरू पनि छोड्दै हिडेपछि यो आर्थिक बर्ष सकिन लाग्दा पनि पुल बन्ने छाटकाट देखिदैन् ।
कम्पनीले २०७३ बैशाख ६ गते भ्याट सहित ८ करोड ७१ लाख ६३ हजार रुपियाँमा पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ ।