काठमाडौँ । सहकारी संस्थाको बचत रकम अपचलन सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले कार्ययोजना र आन्तरिक कार्यविधि मस्यौदा तयार गर्न सचिवालयलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ। बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको समितिको बैठकले दुई दिनभित्र समितिको कार्यविधि बनाएर अर्को बैठकमा पेश गर्नेगरी समितिले सचिवालयलाई जिम्मेवारी प्रदान गरेको हो ।
समितिको पहिलो बैठक सभामुख देवराज घिमिरे समेतको उपस्थितिमा बसेको थियो । बैठकमा सभामुख घिमिरेले प्रतिनिधि सभाबाट पारित समितिको कार्यादेश, राजनीतिक दलहरुका बीचमा भएको सहमति, कार्यक्षेत्र र अनुसूचीमा समावेश भएका सहकारीको नामावलीसहितको दस्ताबेज सहकारी छानबिन समितिका सभापति सूर्य थापालाई हस्तान्तरण गर्नुभएको छ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति थापाले तोकिएकै समयमा अनुसूची भित्रका सहकारीहरुमा केन्द्रित भएरै काम सम्पन्न गर्नेगरी छलफल भएको जानकारी दिनुभएको छ । उहाँले समिति सदस्यहरुले तीन महिनाभित्र अहोरात्र काम गरेर भएपनि काम सक्ने प्रतिबद्धता व्यक्त गरेको भन्दै समितिको प्रतिबद्धता पनि त्यही रहेको बताउनुभयो । तोकिएको जिम्मेवारी पुरागर्न समिति रात दिन नभनी काम गर्ने बताउनुभयो ।
आफूहरुले पाएको जिम्मेवारीलाई पूरा गर्न तोकिएको समयसिमा भित्रै काम सम्पन्न गरिने समिति सदस्यहरुले प्रतिबद्धता व्यक्त गर्नुभएको छ। समितिले तीन महिनाको समय पाएको छ । आज पहिलो बैठक बसेको दिनदेखि समयसिमा प्रारम्भ हुने जनाइएको छ । समितिको आगामी बैठक शुक्रवार बस्ने बताइएको छ ।