काठमाडौं । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा औषधिको गुणले युक्त तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ ।

 

हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर (विष्णु) को विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ । आषाढ शुक्ल एकादशीअर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा आजा गर्ने परम्परा रहेको छ ।

विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदीनालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।

हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारी फूल मालाले सजाएर विवाह गरिने चल्न रहेको छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

एकादशीमा नेपालका विभिन्न तीर्थस्थल, देवालय र मठमन्दिरमा मेला लाग्ने गर्दछ । त्यस्तै सानाठूला नदीनाला तालपोखरी र सरोबरमा स्नान गर्ने मानिसहरूको घुइँचो लाग्ने गर्दछ । आषाढमा पर्ने एकादशीका दिनबाट सुरु गरी चार महिनासम्म चोखोनीतो भई, एक छाकमात्र खाई, चतुर्मासा व्रत बस्ने चलन पनि छ । चतुर्मासाको अवधिभरि ठाउँठाउँमा व्रतकथा महात्म्य र पुराणहरूको कथा श्रवण गर्ने व्यवस्थापन समेत हुने गर्दछ ।

कतिपय धार्मिक व्यक्तित्वहरूले आआफ्ना घरैमा कथा सुन्ने सुनाउने व्यवस्था समेत गरेका हुन्छन्। ठूलाठूला विद्वान्, सन्त, महन्त, योगी र सन्न्यासीहरू यस अवधिमा सम्भव भएसम्म एकै ठाउँमा बस्ने गर्दछन् र आफ्ना आध्यात्मिक उपदेश प्रदान गर्ने गर्दछन्।

चतुर्मासाको अवधिमा केही तीर्थस्थलहरूमा बाहेक अन्य तीर्थस्थलको तीर्थयात्रा पनि बन्द हुन्छ । यस अवधिमा वृन्दावन, बाबाधाम, बद्रीनाथ, मुक्तिनाथ, गोसाइँकुण्ड, दूधकुण्ड आदि तीर्थको तीर्थाटन गर्ने परम्परा पनि छ । समग्रमा आध्यात्मिक र धार्मिक दृष्टिले चतुर्मासा अवधिको ठूलो महत्त्व मानिन्छ ।

उपत्यकाका चार नारायण चाँगुनारायण, शेषनारायण, शङ्खुनारायण र विशङ्खुनारायण मन्दिर साथै देशभरका नारायण मन्दिरमा आज भक्तजनको विशेष भीड लाग्ने गर्छ । आजदेखि मार्गशीर्ष कृष्ण पञ्चमीका दिनसम्म तुलसीको हवन गर्न हेराउनु नपर्ने धार्मिक मान्यता छ । त्यसपछि हवन (होम)जुरेका दिनमात्र तुलसी पूजा उद्यापन गर्न हुने विधि छ । यसरी चार महिने तुलसी पूजा समापन हुन्छ ।

यदि चार नारायणको दर्शन गर्न नसक्ने भक्तजनहरुले उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा गई पूजाआजा एवं दर्शन गरेमा मनकामना पूरा हुने विश्वास छ । बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु एवं शिवको मूर्ति स्थापना गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय