तानसेन । पाल्पामा स्कार्पियो दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । आइतबार बिहान करिब सवा ४ बजेतिर जिल्लाको निस्दी गाउँपालिका–४, स्थित झ्याङ्लिङ् सडक खण्डमा स्कार्पियो दुर्घटना हुँदा नौ जना यात्रु घाइते भएको पाल्पा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसार होराइजन डेन्टल रामपुर अस्पताल सञ्चालित भीरपानी डेन्टल शिविरमा गई फर्कने क्रममा बा. १५ च ५९४ नम्बरको स्कार्पियो दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि घाइते हुनेमा रामपुर–५, का २१ वर्षीय डोल्मा खण्डाल, सोही स्थानकी २८ वर्षकी रचना राना, चालक ३० वर्षका मोहन अर्याल र ३४ वर्षका शङ्कर श्रेष्ठको अवस्था मध्यम् रहेको प्रहरीले जनाएको छ ।
यस्तै रामपुर–५, पाल्पाकी अनिसा सिंह ठकुरी, ममता श्रेष्ठ, सविता राना, श्रृया रुचाल, दिपा हिस्कीमगरको अवस्था सामान्य रहेको छ । उनीहरूलाई रामपुर अस्पतालबाट थप उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा रिफर गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाका घाइतेलाई प्राथमिक उपचार पश्चात थप उपचारका लागि प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा ल्याइएको प्रहरीले जानकारी दिएको छ ।
कच्चि सडक खण्डमा भएको सडकको बाँया साइडको भित्तामा ठक्कर खान जाँदा सवारी दुर्घटना भएको बताइएको छ । दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।