प्यूठान । नेकपा (माओवादी केन्द्र) का उप–महासचिव वर्षमान पुनले माओवादीले शसक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति प्यूठानले आयोजना गरेको पत्रकार भेटघाटमा नेता पुनले संसद र सडकबाट सरकारलाई खवरदारी गर्ने बताउनुभएको हो ।
नयाँ बनेको नेकपा (एमाले) र नेपाली कांग्रेसको गठबन्धनको सरकारले भ्रष्टाचारको मुद्धालाई कसरी अगाडी बढाउँछ भन्ने प्रश्न रहेको बताउनुभयो । पुष्पकमल दाहाल नेतृत्वको सरकारले थालेको भ्रष्टाचार विरुद्धको अभियानलाई अहिलेको सरकारले कसरी अगाडी बढाउँछ भन्ने विषयलाई माओवादीले संसद र सडकबाट नियाल्ने र खवरदारी गर्ने बताउनुभयो ।
नयाँ बनेको सरकारले संविधान संसोधनको विषय उठाएर जनतालाई भ्रम छरेको नेता पुनले बताउनुभयो । “संविधान संसोधन सम्भव छैन,” उहाँले भन्नुभयो,“साना दल र माओवादी विना संविधान संसोधन गर्न सम्भव छैन र हुँदैन ।” उहाँले संघीयताको मर्म अनुरुप प्रदेश सरकारलाई अधिकार नदिदा प्रदेश सरकार प्रति जनतामा निराशा देखिएको उल्लेख गर्नुभयो । आर्थिक अधिकार, राजनैतिक अधिकार, प्रशासनिक अधिकार प्रदेश सरकारले पाउन नसकेको र त्यसलाई बढाउँदै लैजानुपर्ने उहाँको धारणा छ । संघीयताकै कारण कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आर्थिक वृद्धिदर बढेको दावी गर्नुभयो । “कर्णाली र सदुरपश्चिममा सफल देखिएको छ,” नेता पुनले भन्नुभयो, “धेरै बजेट पाएको छ, रिजल्ट राम्रो देखिएको छ, आर्थिक वृद्धि भएको छ ।”
नेता पुनले पार्टीलाई बलियो बनाउँदै लैजाने गरि परिचालन गर्ने बताउनुभयो । आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने गरि संगठन निर्माण र सुदृढीकरण गर्ने गरि पार्टीले योजना बनाएको उहाँले बताउनभयो । सवै वडा, सवैपालिका, सवै प्रदेश र संघमा माओवादीले आफ्नो उम्मेदवार उठाएर चुनावमा सहभागी हुने उहाँको भनाई छ । चुनावपछि भने गठबन्धन गर्न सकिने नेता पुनले बताउनुभयो ।



S.K. Creative Media Group