सरद बिष्ट
प्यूठान । राष्ट्रिय बाल दिवस प्यूठान सहित देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसको यस वर्षको नारा, “बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने रहेको छ ।
नेपालमा हरेक वर्ष भदौं २९ गतेलाई राष्ट्रिय बाल दिवशको रुपमा मनाउने गरेको छ । सन् १९९०, सेप्टेम्बर १४ तारिखमा नेपालले बाल अधिकार सम्बन्धी महासन्धीलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको बिशेष दिनको रुपमा मनाउने गरिएको छ ।
भिंग्री जलुकेबाट बालबालिकाहरुले बिभिन्न झाँकी सहित प्ले कार्ड सहित जिमुरपाटा पुगेर कविता प्रतियोगिताको कार्यक्रम आयोजना गरिएको स्वर्गद्धारी नगरपालिकास्थित महिला बालबालिका अपाङ्ग शाखा तथा ज्येष्ठ नागरिक शाखाका संयोजक नीमा डाँगीले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम बालतपस्वी वेद बिद्यालय गुरुकुलमवाटअविनाश उपाध्याय, दोस्रो स्थान प्राप्त गर्नेमा बालतपस्वी वेद बिद्यालय गुरुकुलमवाट नै नवराज रेग्मी, तेस्रो स्थानमा लोक चेतना एकेडेमीकी छात्रा स्मृति योगी र शान्त्वना उमामहेश्वरीकी छात्रा सलिना घर्ति र जनता माध्यमिक विद्यालय बर्जिवाङ्गकी छात्रा चन्द्री घर्ति मगर हुनुभएको छ ।
स्वर्गद्धारी नगरपालिका वडा नम्बर ४, स्थित जिमुरपाटा सूचना प्रविधि पार्कमा सञ्चालन भएको माध्यमिक तहको कविता प्रतियोगितामा ११ वटा माध्यमिक विद्यालयका १९ जना प्रतियोगीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगिताको निर्णायकमा चन्द्र प्रभा माध्यमिक विद्यालय रोल्पामा कार्यरत शिक्षक तथा कवि घनश्याम आचार्य, गणेश माध्यमिक विद्यालय तिराममा कार्यरत शिक्षक गंगाराम भण्डारी र अमर माध्यमिक विद्यालय कार्यरत शिक्षक रुकमिणी रावल रहनु भएको थियो ।
नगर स्तरीय बाल संजालको आयोजनामा भएको कार्यक्रममा आर्थिक सहयोग स्वर्गद्धारी नगरपालिका महिला बालबालिका अपाङ्ग तथा ज्येष्ठ नागरिक शाखाले गरेको थियो भने सहकार्य फुलवारी एकीकृत ग्रामीण विकास संस्था नेपाल, कृषि तथा जीविकोपार्जन प्रवर्द्धन परियोजना, मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रले गरेका थिए ।
नगरस्तरीय बााल सञ्जालका उपाध्यक्ष बसन्तराज गोराथोकीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका उप-प्रमुख दुर्गा रेग्मीको प्रमुख आतिथ्यता, नगरपालिकाका उप-प्रमुख मीनराज राना मगरको विशेष आतिथ्यता रहेको थियो । नगर बाल सञ्जालका सदस्य सिम्रन शर्माले स्वागत र कार्यक्रमको सहजीकरण नगर बाल सञ्जालकी सचिब कौशिला कालाथोकीले गर्नुभएको थियो ।