रोल्पा । रोल्पामा चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालनमा आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सदरमुकाम लिवाङमा सोमबारदेखि सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको हो ।
असोज २ गतेदेखि माघ २ गतेसम्मका लागि सुपथ मूल्यका खाद्य सामग्री बिक्री सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड रोल्पाका निमित्त शाखा प्रमुख खर्क बहादुर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार अरुवा मोटा चामल, अरुवा मध्यम चामल, सोना मन्सुली चामल र स्टिम जिरा मसिनो चामलमा ५ रुपैयाँका दरले प्रतीकेजीमा छुट दिइएको छ ।
छुटपछि अरुवा मोटा चामल प्रति केजी ५८ रुपैयाँ, अरुवा मध्यम चामल प्रतीकेजी ६० रुपैयाँ, सोना मन्सुली चामल प्रतीकेजी ६० रुपैयाँ र स्टिम जिरा मसिनो चामल प्रतीकेजी ८६ रुपैयाँका दरले उपभोक्ताले पाउनेछन ।
सामग्री खरिदकालागि उपभोक्ताले बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म र शुक्रवारको दिन भने बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म समय तोकिएको छ ।
सहुलियत मूल्य पसल धेरै उपभोक्ता माझ पुगोस भन्ने उदेश्यले १ व्यक्तिले १ क्विन्टल अर्थात् ४ बोरासम्म खरिद गर्न सक्ने कार्यालयले जनाएको छ । कार्यालयले यो वर्ष ६ सय क्विन्टल चामल बिक्री गर्ने लक्ष्य लिएको कार्यालयले जनाएको छ ।