माधव पोख्रेल
सिर्जना सृष्टि हो । साहित्य सिर्जना हो । व्यक्तिमा रहेको प्रतिभा नै सिर्जना हो । संसारमा सिर्जना शक्ति कहिल्य पनि विफल हुदैन । सिर्जनाले समाजलाई निश्चित योगदान दिएको हुन्छ । यो धर्तिमा पृथ्वी र नारीलाई मुख्य सिर्जना शक्ति मानिन्छ । पृथ्वी जसले समग्र प्राणी र वनस्पतिको सिर्जना गरेर सृष्टीलाई सौन्दर्य थपेको छ । यही सिर्जनामा हामी रमेर बस्ने सुन्दर मानव जाति बन्न पाएका छौ । दोस्रो सिर्जना नारी जातिलाई मानिन्छ जसले सृष्टि चलाउन सन्तानको सिर्जना गर्दछिन । नारी सिर्जनाको महत्वको गुणगान जति गाए पनि कमी नै हुन्छ । नारी सङ्घर्ष र त्यागका प्रतिमूर्ति मात्र होइनन् सिर्जनाका संवाहक पनि हुन । त्यस्तै सिर्जनाकी संवाहक बन्नु भएकी सानु गुल्मेली (राजकुमारी कुँवर) सिर्जना हो कथा सङ्ग्रह ऐँजेरु ।
माता जमुनादेवी कुँवर र पिता प्रेमबहादुर कुँवरको कोखबाट वि.स. २०३५ श्रावण १२ गते भारतको उडिसामा जन्मिएकी सानु गुल्मेलीको पुख्यौंली थलो पुर्कोटदह गुल्मी हो भने हालको स्थायी बसोबास प्यूठान नगरपालिका वडा नं ७ पुण्यखोलामा रहेको छ । स्नातकोत्तरसम्मको शिक्षा हासिल गर्नुभएकी सानु गुल्मेली हाल क्षेत्रविकास मा.वि. पुण्यखोलामा अध्यापनरत हुनुहुन्छ । सानै उमेरदेखि साहित्य तर्फ रुची भएकी सानी गुल्मेलीले लुम्बिनी वाङ्मय प्यूठान शाखा, नेपाल बालसाहित्य समाज लुम्बिनी प्रदेश, साहित्य परिषद् प्यूठान, राप्ती साहित्य परिषद्, नवज्योति पुस्तकालय, नेपाल बाल साहित्य समाज जस्ता साहित्यिक संघसंस्थामा आवद्ध भएर काम गरिरहनु भएको छ । बहुमुखी प्रतिभाकी धनी सानु गुल्मेलीले कथा,कविता, गजललगायतका साहित्यिक विधामा कलम चलाइ रहनु भएको छ ।
सानु गुल्मेलीको पहिलो कथा सङ्ग्रह ऐँजेरु सामाजिक यथार्थवादी कथाको रुपमा देखिन्छ । यस कथा सङ्ग्रहमा रहेका एघारओटा कथा मध्ये एउटा कथाको शीर्षक ऐँजेरु कथाबाट कथा सङ्ग्रहको नामाकरण गरिएको छ । प्रस्तुत कथा सङ्ग्रहमा वर्तमान समाजको यथार्थताको चित्रण गरेको छ । हामी जुन समाजमा रहेका छौं त्यही समाजको प्रतिविम्बन कथामा देखिएकोले यस कथा सङ्ग्रहलाई समाजको दर्पणको रुपमा लिन सकिन्छ । कथासङ्ग्रहमा आएका कथाहरुमा समाजमा रहेको धनी गरिव बीचको विभेद, छोरा छोरीको विभेद, नारीहरुले भोग्नु परेका दुःख, पीडा र व्यथालाई विषय बनाएको देखिन्छ ।
ऐँजेरु कथासङ्ग्रहमा संकलित एघार कथा मध्ये पहिलो कथा ऐँजेरु हो । कथासङ्ग्रहको नामाकरण यसै कथाबाट राखिनुले पनि यसको महत्व झल्कन्छ । ऐँजेरु कथामा एकल पिता गजेन्द्र आफूले दुःख गरेर हुर्काएको छोराको विवाहपछिको केही व्यवहारबाट असन्तुष्ट भएर घर छाडेर गएको र पछि छोराले आफूप्रति गरेको विर्सन नसक्ने स्नेहलाई बुझे पछि घरमा फर्किएको कथा रहेको छ । यस कथामा गजेन्द्रले क्षणिक र सानो कुरामा पनि बढी शंका उपशंकार नचाहिदो चिन्ता लिदा त्यसले घरै छाड्ने बनाउने ऐँजेरुको काम गरिरहेको हुँदो रहेछ भन्ने भाव व्यक्त गरेको छ । प्रस्तुत कथाले पुरानो पुस्ता पनि नयाँ पुस्तासँग समायोजन हुन सक्नु पर्दछ र आफ्नो पालमा यस्तो थियो, उस्तो थियो भनेर मात्र सोच्नु हुदैन भन्ने सन्देश समेत दिएको छ । कथा सङ्ग्रहको दोस्रो कथा त्याग रहेको छ । यस कथामा एक विवाहित निसन्तान महिलाले गरेको त्यागको विषयवस्तुलाई समेटिएको छ । नारी जातिले आफ्नो पति र परिवारको खुसिको निम्ति सङ्घर्ष मात्र होइनन जस्तोसुकै त्याग पनि गर्नसक्छन भन्ने कुरालाई कलात्मक पाराले प्रस्तुत गरिएको छ । विवाह गरेपछि आफूबाट सन्तान जन्मन नसके पछि पतिको दोस्रो विवाह गरिदिएकी एक महिला उनै सौताका कारण घर छोड्न बाध्य भए पनि कुनै पश्चाताप नभएको कुरा देखाउन खोजिएको छ ।
कथासङ्ग्रहको तेस्रो कथा दुई ध्रुव रहेको छ । यस कथामा विवाहित पुरुष काका अर्कि विवाहित महिला अनुप्रति आकर्षित भएको विषयवस्तु छ । आफू विवाहित र सन्तानको बाबु भएको पुरुष पनि निर्लज्ज तरिकाले अकार्की श्रीमतीसँग माया प्रितिको प्रस्ताव राख्न पछि पर्दैनन भन्ने आधुनिक समाजको वास्तविकता कथाले ओकलेको छ । अनुको उत्कृष्ट निर्णयले महिलाहरु पुरुषका खेलौना होइन जो कोहीसँग पनि पछि लाग्ने भन्ने कुरालाई कथाले प्रष्ट पारेको छ । सङ्ग्रहमा रहेको अर्को कथा देशको समाचार हो । प्रस्तुत कथामा एउटा पात्रले आफ्नो विद्यार्थी जीवनमा साथीको घर पाहुना भएर जाँदा खाना खाने कुराको विषयलाई लिदै पाहुनालाई पकाएको म म घरका सदस्यले चाख्दा चाख्दै सकेको विषयवस्तुलाई उजागर गर्दै प्रजातन्त्र प्राप्तीपछि नेपालको राज्य सत्ताको बागडोर परीक्षण गर्दागर्दै खेर गएको कुरालाई प्रतिकात्मक रुपमा व्यक्त गरिएको छ ।
सङ्ग्रहको पाँचौ कथा धर्मकाठ रहेको छ । प्रस्तुत कथामा नेपाली समाजले कुसंस्कार र कुरीति हटाउदै जानु पर्नेमा नयाँ नयाँ कुरीति सुरु भई परम्पराको रुप लिन थालेको विषयवस्तुलाई पस्केको छ । गाउँघरमा मृत्यु भएका व्यक्ति जलाउन जाने मलामीको लागि मृत्यु संस्कारको तेहैं दिनमा टिका लगाएर खामभित्र पैसा राखेर दिने नयाँ चलन सुरु भएको र यसले समाजलाई कुन रुपमा लैजाने हो भनी चिन्ता व्यक्त भएको छ । आजको पूँजीपति समाजले निर्माण गरेको कु संस्कार धर्मकाठ लैजाले मलामीलाई दक्षिण दिई धर्मकाठ किन्नुपर्ने नयाँ विकृति समाजमा जन्मिएकोले त्यसको अन्त्य हुनु पर्ने सन्देश पनि कथाले दिएको छ । सङ्ग्रहको अर्को कथा पूर्णविराम रहेको छ । प्रस्तुत कथामा धनी र गरिव बिचको विभेदलाई देखाउन खोजिएको छ । गाउँघरका सामन्तीहरु पढ्ने खर्चको लागि ऋण नदिने तर जागिर गर्न विदेश जानेलाई ऋण दिने कुरालाई देखाउन खोजिएको छ । पढ्नका लागि ऋण नदिएको देवानन्द पाध्याले पढेर सरकारी सेवामा जागिर खाएपछि आफ्नी नातिनीसँग विवहाको प्रस्ताव राख्दा महेशले यो नातासम्बन्ध जोडिनै नसक्ने भनी विवाहको प्रस्तावमा पूर्णविराम लगाई अर्कै गरिबकी छोरीसँग विवाह गरेर स्वार्थी प्रवृत्ति प्रति झापट प्रहार गरेको छ ।
सङ्ग्रहको सातौं कथा प्रताडित आमा हो । प्रस्तुत कथाले अन्र्तजातीय विवाहले निम्ताएको पिडालाई देखाउन खोजेको छ । छोरीले अन्तरजातीय विवाह गरेपछि आक्रोशित बनेको धनेश्वरले जिउँदै छोरीको काजक्रिया गरेको र सदाका लागि घरमा प्रतिबन्ध लगाए पछि निरह बनेकी आमाले चिन्तै चिन्तामा आफ्नो ज्यान गुमाउनु परेको तितो यर्थाथतालाई प्रस्तुत गरिएको छ । हाम्रो समाजमा अझै पनि धनेश्वर जस्ता कट्टरतावादी पुरुष रहेका छन् र चारु जस्ता ममता भएका महिलाहरु पनि छन् जसले आफ्नो सन्तानको पिडाले चिन्तै चिन्ता लिदाँ चिताको बाटो पुग्नु परेको हुन्छ । सङ्ग्रहको अर्को कथा फिलिङ्गो रहेको छ । यो कथामा गुरुप्रसाद मैनालीको समयमा परालको आगोसँग तुलना गरिएको लोग्ने स्वास्नीको झगडालाई आधुनिक समयमा फिलिङ्गोसँग तुलना गरिएको छ । अहिलेको समयमा सामान्य कुरामा पनि सम्बन्धविच्छेद गर्ने श्रीमान् श्रीमतीको प्रवृत्तिलाई कथाले मर्मस्पर्शी पाराले पस्केको छ । हिजो जुन कुरा सामान्य परालको आगो जस्तै हुन्थ्यो आज त्यही कुरा आगाको फिलिङ्गो जस्तै बनेको कुरालाई कथाले देखाउन खोजेको छ ।
प्रस्तुत ऐँजेरु कथा सङ्ग्रहको नवौं कथा समानुभूति रहेको छ । यस कथामा लोग्ने स्वास्नीको बिचमा समान अनुभूति भएमा घर स्वर्ग हुन्छ भने समान अनुभूति भएन भने घरझगडाले उग्र रुप लिन्छ भन्ने विषयवस्तु पस्केको छ । श्रीमतीको बोटविरुवा र बेर्नाप्रतिको मोहलाई बुझ्न नसकेको श्रीमानले पछि माया दिन थाले पछि लोग्ने स्वास्नीको फरक बुझाइमा समान अनुभूति आएपछि घरमा सुखमय वातावरण सिर्जना भएको कुरालाई देखाउन खोजेको छ । कथासङ्ग्रहको अर्को कथा सामाजिक न्याय रहेको छ । प्रस्तुत कथाले न्यायको दृष्टिमा सबै समान हुन । समाजले न्याय अन्याय छुट्याउदा धनी, गरिब, ठूलो सानो, सम्पन्न विपन्न भनेर विभेद गर्नु हुदैन भन्ने कुरालाई उजागर गर्न खोजेको छ । समाजमा कसैले गल्ती र अन्याय गर्छ भने त्यसको भागीदार जोसुकै हुनुपर्छ भन्दै हरिबहादुरले आफ्नै बाबुको गल्ती औल्याएर सजाय दिएको र लाटोमाथि सामाजिक न्याय गरेको विषयवस्तु उठाइएको छ ।
ऐँजेरु कथासङ्ग्रहको अन्तिम कथा छैटीको बत्ती कथा नारीवादी कथाको रुपमा देखापर्छ । महिलाप्रति गरिने विभेदको एउटा रुपको रुपमा प्रस्तुत कथा देखा परेको छ । छोरा जन्मेको छैठौं दिनमा धुमधामसँग छैठीं मनाउने हाम्रो समाजमा छोरी जन्मदाको छैठौं दिनमा सामान्य खाली कापी र कलम राखिदिन पनि सक्दैनन र बत्ती बाल्न पनि दिदैनन् भन्ने कुरालाई कथाले पस्केको छ । छोरीले पनि छोरालेभन्दा परिवारको लागि कम योगदान दिदैन भन्ने कुरा पनि कथामा आएको छ । नातिनीको छैठीमा बत्ती बाल्नसम्म नदिएकी हजुरआमालाई नातीनीले नै घुमफिर गराउने र स्याहार सुसार गरेको घटनाले हजुरआमाले पछुतो मानेको घटनाको विषयवस्तु यस कथामा रहेको छ ।
समग्रमा सानु गुल्मेलीका ऐँजेरु कथासङ्ग्रहका कथाहरु नेपाली समाजको यथार्थतालाई पस्कने विषयका कथाहरु रहेका छन् । नारी सर्जक गुल्मेलीले प्रस्तुत कथासङ्ग्रहमा नारीका दुःख, पिडा र व्यथालाई बढी जोड दिएर प्रस्तु गरेको पाइन्छ । अन्तरजातीय विवहामा नारीले भोग्नुपरेको पिडा, निसन्तान महिलाको त्याग, छैठींमा छोरीप्रति गरिने व्यवहार, महिलाको प्रकृतिप्रतिको मोह लगायतका विषयवस्तुलाई उठान गरी नारी महिमा र महत्वलाई कथासङ्ग्रहले प्रष्ट पारेको छ । कथा सङ्ग्रहमा रहेका कथाहरु सामाजिक विषयमा मात्र केन्द्रित छैनन् पात्रको सुक्ष्म मनोदशालाई चित्रण गर्ने मनोविश्लेषणात्मक पाराका पनि रहेका छन् । कथामा स्थान विशेषका भाषाशैलीको प्रयोग भएको छ । कथा सङ्ग्रहको शीर्षक पनि ज्यादै उपयुक्त रहेको छ । ऐँजेरु ऐँजेरु कथाको मात्र विषयवस्तु नभइ रहेक कथाम ऐँजेरुरुपी पात्रहरु रहेका र तिनको व्यवहारले समाजबाट ऐँजेरुहरुको अन्त्य गरी बोटबिरुवालाई राम्रोसँग हुर्कन मलजल गर्नुपर्छ भन्ने विषयवस्तुको उठान हुनुले कथाङ्ग्रहले समाज सुधारको तिब्र इच्छा राखेको कुराको संकेत गर्दछ । प्रस्तुत कथा सङ्ग्रह सानु गुल्मेलीको पहिलो कथा सङ्ग्रह भए पनि यसले प्रसस्त सम्भावना बोकेको छ । साहित्यमा उदाँउदो नक्षेत्रको रुपमा देखापरेकी गुल्मेलीको साहित्य क्षेत्रमा अझ बढी योगदान रहोस् भविष्यमा थप कृतिहरु देख्न पाइयोस् भन्दै कथासङ्ग्रहको उत्कृटताको लागि हार्दिक बधाइ सहित आगामी साहित्यिक यात्राको लागि शुभकामना । धन्यवाद !