धादिङ । धादिङको धुनिबेसी नगरपालिका–९, स्थित झ्याप्ले खोलाको पहिरोमा थप सवारी साधन पुरिएको हुनसक्ने भन्दै पहिरो पन्छाएर पुनः खोजी गर्न थालिएको छ । अविरल वर्षाले झ्याप्ले खोलामा गत शुक्रबार राति आएको पहिरोमा तीनवटा सवारी साधनमा पुरिएको र पुरिएका सवारीसाधनबाट ३५ जनाको शव फेला पारिएको थियो । उक्त पहिरोमा थप सवारी साधन पुरिएको हुन सक्ने आशंकमा सडकको कुना र सडक तलतिर थुप्रिएको पहिरो पन्छ्याएर पुनः खोजी गर्न थालिएको हो ।
झ्याप्ले खोलामा करिब दुई सय मिटर माथिबाट पुरै डाँडानै भासिएर झरेको पहिरोको गेग्य्रान सहित लेदोले सडकको कुना तिर र सडकको तलतिरको छेउमा ठूलो थुप्रो लागेकोले सो थुप्रीएको माटोलाई निर्माण कम्पनीको उपकरणको प्रयोग गरि खोतल्ने काम भैरहेको प्रहरीले जानकारी दिएको छ ।
गाडिहरु सम्पर्क बिहिन भएको ४८ घण्टा पछि दुईवटा माइक्रोबस र एक ठूलो बस पुरिएको अवस्थामा फेला परेको स्थानमा एउटा कार पनि पुरिएको भन्ने आशंका रहेकाले पहिरोको कारण थुप्रिएर रहेको माटोलाई पुनः पन्छाएर खोजी कार्य थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिनुभयो। उहाँका अनुसार अहिलेसम्म पहिरोमा कुनै पनि सवारी साधन फेला नपरेको बताउनुभयो।
बुधबार बिहानैदेखि निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरेर पहिरोको कारण जम्मा भएको गेग्य्रान पन्छाएपछि अहिले झ्याप्ले खोला क्षेत्रमा दुईतर्फी सडक आवागमनमा सहज भएको छ । काठमाडौं भित्रिने र बाहिरिने सवारी साधन अत्याधिक चाप भएका कारण जोखिमपूर्ण स्थानहरुमा जाम हुन नदिन सवारी साधनलाई आलोपालो गरी आवागमन मिलाइएको प्रहरीले जानकारी दिएको छ ।
फाइल फोटो ।



S.K. Creative Media Group