
काठमाडौं । कपिलबस्तुमा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय परिषद सदस्य लगायतका नेताहरू एमालेमा फर्कनु भएको छ ।
शुक्रबार शिवराज नगरमा आयोजित कार्यक्रममा सो पार्टीका केन्द्रीय परिषद् सदस्य छविलाल शर्मा लगायतका नेताहरू एमाले फर्कनु भएको हो । नेकपा एमाले केन्द्रीय सदस्य एवं भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले उहाँहरूलाई एमालेमा स्वागत गर्नु भएको हो ।
कार्यक्रममा एकीकृत समाजवादीका प्रदेश सदस्य जीतबहादुर रावत, जिल्ला सचिव सरोज पौडेल, नेताहरू बलबहादुर विश्वकर्मा, शिवराज उपाध्यक्ष, सम्झना चौधरी लगायतका नेताहरू पनि एमालेमा फर्कनु भएको छ । एमाले शिवराज नगर कमिटीद्वारा आयोजित दशैँको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कांग्रेस, माओवादी केन्द्र र लोसपाका कार्यकर्ता पनि एमाले प्रवेश गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले समृद्ध नेपाल, सुखी नेपालीको नारालाई पूरा गर्न नेकपा एमालेको एकता आवश्यक रहेको बताउनुभयो । उहाँले अन्य पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्नु पार्टीको सशक्तीकरण र देशको विकासको लागि महत्त्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गिरिधारीलाल न्यौपानेले एमालेको सशक्त संगठन बनाउन र जनताको सेवाका लागि प्रवेश गर्नेलाई धन्यवाद दिनुभयो ।