
सरद बिष्ट
हिन्दु नेपालीहरुको विभिन्न चाडपर्वहरु मध्य बिजया दशमी एउटा महान एवम् हर्षोल्लासको पर्व हो । बर्षमा एक पटक खुशी र उमंग लिएर आउने यो महान चाड दशैंका विभिन्न नामहरु छन् । कसैले दशहरा, कसैले बिजया दशमी र कसैले बडा दशै भनेर नामाकरण गरेको पाईन्छ । यसपाली वि.स.२०८१ सालको दशैं नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति अनुसार असोज २६ गत आज शनिवार बिहान ८ः३३ बजे देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि अति उत्तम साइत खोज्नेका लागि बिहान ११ः३६ बजे टिका ग्रहणको साइत दिइएको समितिले जनाएको छ । । जेहोस दशैंलाई नेपालीहरुको सबैभन्दा ठूलो राष्ट्रिय चाड, महान उत्सव र पारिवारिक पुनर्मिलनको चाड पनि भन्ने गरिन्छ ।
हिन्दु धर्मशास्त्र अनुसार त्रेता युगमा यहि आजको दिनमा श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा यस चाडलाई विशेष गरी मनाइन्छ । भगवान श्री रामले दशौं दिनमा रावणमाथि विजयी हाँसिल गरेको भएर दशैलाई वडादशैं एवम् विजया दशमीको नामले पनि चिनिन्छ । विशेषत दशैलाई असत्य माथि सत्यको जीत भएको दिनको रुपमा पनि सम्झना गर्ने गरिन्छ ।
सामान्यता विजया दशमी भगवान श्रीरामको विजयको रुपमा मनाइयोस् वा दुर्गा पूजाको रुपमा, दुबैको रुपमा मनाउदा यो शक्ति-पूजाको पर्व हो । हर्ष, खुशी र उमङ्ग तथा विजयको पर्व हो । त्यसैले दशैले आफ्नो छुटै गरिमा र पहिचान बनाएको छ । प्राचिन कालमा राजाहरुले यो दिन विजयको प्राथना गरेर रथ-यात्राको लागि प्रार्थना गर्दथे । उक्त दिनमा ठाउँ-ठाउँमा मेलाहरु लाग्थ्यो । अहिले पनि भारतमा रामलीलाको आयोजना हुन्छ र रावणको विशाल पुतला बनाएर जलाइन्छ ।
हिन्दु नेपालीहरुको सबैभन्दा ठुलो चाड भनेको नै दशै हो । दशैं आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना भनिन्छ । दशैं प्रतिपदा घटस्थापनादेखि पुणर्िमा (कोजाग्रत) सम्म १५ दिनको हुने भएतापनि पहिलो ९ दिनलाई नवरात्री र दशौं दिनलाई दशमी वा वडादशंै भनिन्छ । यो तिथीमा माता दुर्गाले महिषसुर नामक दैत्यलाई तथा भगवान श्री रामचन्द्रले रावणलाई वध गरेर मानबजातिको कल्याण गरेको भन्ने किंवदन्ती छ । प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी (कालरात्री), महानवमी, विजयादशमी र पुर्णिमा (कोजाग्रत) दशैका प्रमुख तिथिहरु हुन् ।
बडादशैंको पर्वमा शहर वजारमा मालश्री धुन बजाएर र गीत गाएर पनि रमाईलो गर्ने गरिन्छ । देश बिदेश तथा टाढा-टाढा भएका आफन्त र साथीभाईसँग घेटभाट हुने वातावरण यसै समयमा सुरु हुन्छ । दशैमा दक्षिणा, टिका, जमरा, नयाँ कपडा, पिङ्ग, मिठा-मिठा खानाका परिकार र मान्यजनको आर्शिवादले भरिपुणर् हुन्छ । त्यसैले अरु चाड भन्दा दशैंलाई विशेष महत्वका साथ हेर्ने र मनाउने गरिन्छ ।
वास्तवमा, दशैं दश दिन मनाउने भएकोले पनि यो हिन्दुहरुको महान पर्वलाई दशै भनेको हुनुपर्छ । दशैमा नवदुर्गाको नौ वटा रुप शैलीपुत्री, व्रहृ्माचारणी, चन्द्रघण्टा, कुशमन्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिधात्रीको विशेष पुजा तथा आरधना गरिन्छ । नवदुर्गा भवानीका यी नव रुपको आश्विन शुक्लपक्ष प्रतिपदाका दिनदेखि महानवमीका दिनसम्म क्रमशः एक-एक दिन गरी नौ दिनसम्म पुजा गर्ने गरिन्छ । दशौं दिन विजयादशमीमा भगवतीले दानवी शक्तिमाथी र श्रीरामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुशीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप मान्यजनवाट रातो टिका र पहेलो जमरा लगाउने गरिन्छ ।
नेपालमा वर्षको दुई पटक दशैं मनाउदै आइरहेका छौं । नेपाली समाजमा परम्परागत रुपमा मनाइने दशैंका दुई पक्षहरु छन् । आश्विन शुक्ल पक्षमा मनाइने दशैंलाई बडादशै भनिन्छ भने चैत्र शुक्ल पक्षमा मनाइने दशैलाई सानो दशै अथवा चैते दशै भनेर भनिन्छ । बडादशैको अघिल्लो दिनहरुमा कोटघर गई पशुहरुको बलि दिई पुजा आजा गर्ने चलन छ । जसलाई पञ्चपल भनिन्छ । हाम्रो प्यूठानमा अष्टमीका दिन भिंगृकोट, सारीकोट र बेल्बासमा धुमधामकासाथ सराय नाच नाच्ने र कोटघरमा पुजाआजा गर्ने गरिन्छ । संस्कृत शब्द दशमीबाट प्राकुत हुँदै नेपाली भाषमा आएको तत्भब शब्द हो-दशैं । संस्कृतिविद् पुण्यरत्न वज्राचार्यका अनुसार दशैं किन भनियो भन्ने प्रश्नमा आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल दशमीसम्म दस दिन धुमधामका साथ मनाउने भएकोले दशै भनिएको हो । अर्थात यो चाड मनाउने बेलामा गर्नुपर्ने दस संयम हो । यही संयम नै दशैं भएको हुनुपर्छ भन्ने धारणा राख्नु हुन्छ । दशैं कहिलेदेखि आरम्भ भयो भन्ने बिषयमा ठ्याक्कै एक मत छैन् । पहिले चैत्र, आषाढ, आश्विन र पौष महिनामा पनि दशै मनाउने चलन थियो भन्ने कुरा बिभिन्न इतिहास तथा ग्रन्थहरुमा उल्लेख भएको पाइन्छ ।
दशैंका महत्वपुर्ण दिनहरुः
घटस्थापना
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि प्रारम्भ हुने नेपालीको महान् पर्व बडादशैंको पहिलो दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि दशैंको नवरात्र आरम्भ हुन्छ । यहि दिन दुई महत्वपूणर् कृत्य सम्पादन गरिन्छ । पहिलो कृत्य यस दिन जमरा राखिन्छ भने अर्को कृत्य यसै दिन घट अर्थात कलशको स्थापना गरी देवीदेवतालाई घर-घरमा निमन्त्रणा गरिन्छ । घटस्थापनाको दिन बिहानै नदी, खोला वा तलाउमा गएर चोखो बालुवा अथवा पञ्चमाटो ल्याई दशै घर र सबैको आ-आफ्ना घरको पुजा कोठामा सुर्यको प्रकाश नपर्ने गरि अध्यारो कोठामा जौ र मकैका गेडा पनि उमार्ने चलन छ । जसलाई हामी जमरा भन्छौ । माता भगवतीलाई मन पर्ने वनस्पति पनि जमरा नै हो । जमरा औषधीमय जडीबुटकिो लागि प्रयोग गरिन्छ ।
महासप्तमी (फूलपाती)
नवरात्रीको सातौं दिनलाई फूलपाती भनिन्छ । यो दिन दशैको लागि पूजा सामाग्री स्वरुप फूलपाती घरमा प्रवेश गराउने कार्य हुन्छ । नवरात्रको सप्तमीका दिन केरा, हलेदो धान, अशोक,वेलपत्र,दारिम, धानको वाला, केराको बोट,जयन्ती र उखँु लगाएत नौ प्रकारका पालुवाहरु दशैं घरमा भित्राउने कार्यलाई फूलपाती भित्राउने भनिन्छ । वर्षा ऋतु सकिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरु घरमा भित्राउदा औषधीको काम गर्ने र विभिन्न रोगका किटाणु तथा जिवाणुहरु नास भएर जान्छन भन्ने शास्त्रीय मान्यता छ । किसानहरुले सप्तमीको दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानको बाला र बोट (पराल) घरमा ल्याउने प्रचलन छ । फूलपातीका दिन काठमाण्डौंको टुँडिखेलमा सेनाको बढाई भएपछि फूलपाति स्वरुप दारिम, केरा, धान, हलेदो,कचु, बेल,अशोक र जयन्ती गरी नौ प्रकारका पातहरुलाई पूजा गरि दुर्गापूजा गरेको स्थानमा राखिन्छ । यसै दिन गोरखा दरबारको दशैं घरवाट ल्याइएको फूलपाती काठमाण्डौंको जमलमा ल्याई नेपाली सेनाले परेड र बढाइँका साथ हनुमानढोका दरवारमा भित्राउछन् ।
महाष्टमी
नबरात्रकिो आठौ दिनलाई महाष्टमी भनिन्छ । बडादशैंको आठौं दिन महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई निकै शक्तिशाली बनाउने दिन भएकोले यसको विशेष धार्मिक महत्व रहेको विभिन्न वेदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । महाअष्टमीको दिन दशैं घर, कोत लगायत राज्यका विभिन्न शक्तिपीठहरुमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । देबी भागवत् अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकालीका साथ अष्टमीका दिन उत्पन्न भएकोले पूजा गर्ने चलन रहिआएको छ । पुजापश्यात मानिसहरु नवदुर्गा र आ-आपना कुलदेवताहरुलाई पूजी बोका,कुखुरा, हाँस, पाडाको बलि दिन्छन् । शाकाहारीले भने नरिवल, कुभिण्डो, केरा आदि फल अर्पण गर्छन् ।
महानवमी
नवरात्रीको नवौं दिन महानवमीमा बिशेष गरी महालक्ष्मी देबीको पूजा-आजा गरिन्छ । यसै दिन हातहतियारहरु तथा सवारीका साधनहरु आदिलाई बलि दिई बिश्वकर्माको पूजा गर्ने प्रचलन छ । यस दिन अरु पूजाको साथै दुई वर्षदेखि दश वर्षसम्मका नवकन्याको पनि पूजाआजा गर्ने गरिन्छ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोत लगाएत राज्यका विभिन्न देवी मन्दिर तथा शक्तिपीठमा बोका, हाँस, कुखुरा र पाडाहरुको बलिसहित दुर्गा भवानीको विशेष पुजा आराधना गर्ने गरिन्छ । वर्षमा एक दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र खुल्ने भएकोले यहाँ दर्शनार्थी एवम् पूजा गर्ने भक्तजनको भीड लाग्ने गर्दछ ।
विजया दशमी
नबरात्रीको दशौ दिनलाई विजयादशमी भनिन्छ । सोरह सामग्रीले भगवती दुर्गा र अरु देवीहरु तथा देवताको पूजा गरी नौ दिनसम्म गरेको पूजाको कामको कुनै त्रुटी भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्ट दल लेखि त्यसका बिचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताको तीन थुप्रा राखी बिचमा अपराजिता देवी दाहिनेतिर जया देवी, देबे्रतिर विजया देवीको आवाहन र स्रोह रामाग्रीले पूजा गरी यथा शक्ति हवन गरी जमरालाई पूजा गरि अनि भगवती दुर्गा, अन्य देवदेवीहरुलाई चढाई आरती र पुष्पाञ्जली गरिन्छ । यसो गर्नाले कसैले पनि आफूमाथि दमन अर्थात विजयी प्राप्त गर्न सक्दैन् भन्ने ञज्ञ यस दिनमा भगवान रामचन्द्रले रावण माथि विजयी प्राप्त गरेकोले यस दिनलाई विजया दशमी भनिएको हो भन्ने भनाई छ । यस दिन आफूभन्दा ठूला र मान्यजनका हातवाट टिका, जमरा र दक्षिणा ग्रहण गरिन्छ । धर्मशास्त्र अनुसार जौलाई समृद्धिको प्रतिक मानिन्छ । दशैको वेला हामीहरु सुःख, शान्ति, शक्ति र समृद्धिको कामना गर्दै टिका लगाउनको लागि आफन्त छिमेक हुँदै मामाघर र ससुरालीसम्म पुग्ने गर्दछौं । सामान्यताः दशैंको टिका लगाउने चलन एक दिन रहेतापनि कतैकतै कोजाग्रत पुणर्िमासम्म टिका लगाउने प्रचलन छ ।
टिका लगाउदा पुरुषहरुलाई दिइने आर्शिवाद यस्तो छ-
“आयू द्रोणसुते श्रीयो खशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्य नहुषे गतिश्व पवने मानञ्च दुर्योधने ।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्व नारायणे ॥”
टिका लगाउदा महिलाहरुलाई दिइने आर्शिवाद यस्तो छ-
“जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोस्तुते ॥”
वास्तवमा वैदिककाल साधना, सिद्धि, सामथ्र्य, शक्ति र सौर्यताको संगमको काल थियो । त्यहिबाट दशैको सुरुवात भो । बडादशै सनातन परम्परा, संस्कार-संस्कृति, धर्म, आस्था र विश्वाससँग जोडिएको बिषयमात्र नभएर अव यसको बैज्ञानिक महत्वको बिषय पनि रहेको पुष्टि भएको छ । यो सामाजिक, साँस्कृतिक, मनोबैज्ञानिक र व्यवहार बिज्ञानसँग पनि निकट रहेको छ ।
दशै पुर्खाको धरोहर हो र दशै हाम्रो संस्कृति पनि हो । यो चाड पुर्खौदेखि चल्दै आएको छ । हामीलाई एक अर्कामा अनुशासित राख्न, सामाजिक मर्यादा सिकाउन, सामाजिक सदाचारको जिवन यापन गर्नको लागि चाडपर्वको उल्लेखनिय भूमिका हुन्छ । दशै जस्तो महान चाडको पनि केहि कमजोरीहरु नभएका होइनन् । सबैको क्षमता र हैसियत समान नभएकोले पनि सबैको घरमा दशैं सोचे जस्तो हुदैन् । गरिवहरुको घरमा चाडवाडहरु पिडा बनेर आउछन् । एक जोर नयाँ कपडा र मिठो गुलियो खान नपाउदा गरिबलाई के को दशै ? त्यसैले दशैमा धेरै तडक भडक देखाउनु राम्रो पक्ष होइन् । घाँटी हेरेर हाड निल्नुपर्दछ । आफ्नो क्षमता अनुसार चाडपर्व मनाउन जान्नु पर्दछ । दशैका नराम्रा पक्षहरुलाई हटाउदै चाडपर्वको संरक्षणमा लाग्नु आजको अनिवार्य आबश्यकता हो । संस्कृतिलाई कहिल्य पनि मास्नु हुदैन । संस्कृति हराए सबैको बिनाश हुन्छ । चाडपर्व र संस्कृतिमा हाम्रो मौलिक जिवन बाँचेको छ ।
सदाको बर्षहरु झै यस बर्ष पनि वडादशैं हामी सबैको घर-आँगनमा आज टुपलुक्कै आइसकेको छ । तर, बिगतको दुई बर्ष कोरोना कालको दशै बढो नमिठो भएर गयो । त्यसपछि हिले दशैं भयो । पोहोर सालको दशैमा केहि राम्रो भएतापनि यसपालिको मुखैमा आएको दशैमा अघिल्लो हप्ता आएको दुई दिने अविरल वर्षाले देशकै राजधानी लगाएत तराईका केही जिल्लाको जनजीवन उथल पुथल बनायो । झण्डै दुईसय भन्दा बढी नागरिकले ज्यान गुमाए । कैयौं घरवार विहिन भए । सरकारले उद्धार कार्यमा ढिलाई गरेकोले कडा आलोचना भयो । मौसम बिभागले अब मनसुन बाहिरिदै गएको र ढुक्कसँग दशैं मनाउन अनुरोध गरेको छ । जेहोस् यसपाली आम नेपालीहरुको महान चाड बिजया दशमी कतै उल्लासमय तरिकाले कतै बज्रपात भएर भित्रिएको छ । घर-घरमा, गाँउ-टोलमा दशैको बेग्लै रौनक छ । मानिसहरु यसपालीको दशै के कसरी मनाउने भन्ने वारे तयारी पनि भइसकेको छ । परदेशमा रहेका आफन्तहरु पनि जहाज तथा रेल चढेर घर फर्किसके । गाँउघरमा दाजुभाईहरु लठारे तथा चर्के पिङ्ग हालिसकेका छन् । जेहोस् चाडपर्वले हाम्रो मुल्य र मान्यताको एउटा इतिहास बोकेको हुनुपर्दछ । चाडपर्वको नाममा फजुल खर्च गर्नृ हुदैन् । ऋणका भार र बोझ बोक्ने गरी कुनै चाडपर्व मनाउनु हुदैन् ।
हुनतः पछिल्लो समयमा हाम्रा चाडपर्व कुन तिथि र मितिमा मनाउनु पर्छ भन्ने कुराको जानकारी हुँदाहुदै पनि चाडपर्वको नाममा केहि बिकृतिहरु भित्रिएको कुरा सबैलाई सर्बबिदितै छ । जस्तो कि तीज आउन एक महिना पहिलेदेखि दर खाने बाहानामा होटल तथा रेष्टुरेन्टमा गएर रक्सी तथा अन्य पेय पर्दाथहरु खाएर रमाइलो गरेका तस्वीरहरु सामाजिक संजालमा छरपष्ट भएका छन् । त्यसैगरीे दशैमा पनि दशै सुरु नहुदै दुई महिना पहिले शुभकामना आदान प्रदान गर्ने नाममा बिभिन्न संघसस्था तथा बिद्यालयहरुले रातो टिका तथा पहेलो जमराहरु लगाएर सामाजिक संजालमा फोटाहरु पोष्ट गरेका छन् । यसो गर्नु भनेको चाडपर्व र संस्कृतिको अपहेलना गर्नु हो । सोहृ श्राद्ध चलिरहेको वेला र प्रिति बिसर्जन गर्ने दिनमा रातो टिका हिन्दु शास्त्रमा राम्रो मानिदैने । हामीले चाडपर्वलाई रमाईलो गराउने वाहानामा बिकृति फैलाउनु हुदैन् । चापर्वको आफ्नै मौलिक इतिहास र जीवन्त कथा छ । हरेक चाडपर्वलाई सामाजिक सद्भाव सँग जोड्नु पर्दछ । चाडपर्वको नाममा गलत सामाजिक सन्देश प्रवाह गर्नु हुदैन् । हरेक चाडपर्व पारिवारिक पुनर्मिलन तथा भेटघाटसँग नै सम्बन्धित छन् । आज बडादशैको अन्तिम दिन सबैलाई हिन्दु नेपालीहरुको महान चाड बडादशैं २०८१ को शुभकामना ! सबैको जीवन सुखमय रहोस् ॥
लेखकः लोक चेतना एकेडेमी बिद्यालयको माध्यमिक तहमा सामाजिक बिषयका शिक्षक हुनुहुन्छ ।