काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट शुभ साइतमा यस वर्षको दसैँको टीका ग्रहण गर्नुभएको छ । राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दसैँको टीका, जमरा र प्रसाद ग्रहण गर्नुभयो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान राष्ट्रपति पौडेलले यस वर्षको दशैंको शुभ साइत ११ बजेर ३६ मिनेटमा टीका, जमरा र प्रसाद ग्रहण गर्नुभएको हो । सोही अवसरमा राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि सविता पौडेलसहित परिवारका सदस्यहरूलाई पनि शुभ साइतमा टीका र जमरा लगाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

विजयादशमीका उपलक्ष्यमा आजै दिउँसो राष्ट्रपति पौडेलले ३ः०० बजे देखि ३ः३० बजेसम्म विशिष्ट व्यक्तित्वहरू तथा र ३ः३० बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई टीका र जमरा लगाइदिने कार्यक्रम रहेको छ ।

राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि ३ः३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीका र जमरा लगाइदिने कार्यक्रम छ । साथै, सोही समयमा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृत स्तरका राष्ट्रसेवकलाई पनि दसैँको टीका र जमरा लगाइदिनुहुने कार्यक्रम छ । यसै गरी दिउँसो ३ः३० देखि ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई पनि राष्ट्रपति पौडेलले टीका र जमरा लगाइदिने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।

दसैँको टीकाले धार्मिक, सांस्कृतिक, र पारिवारिक रूपमा गहिरो महत्त्व राख्दछ, जसले नेपाली समाजमा एकता, प्रेम र शान्तिको भावना प्रवर्द्धन गर्ने समेत विश्वास लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय