प्यूठान। जिल्लाको झिमरुक गाउँपालिकाको चिसावाङमा भएको द्वादशी मेलामा सरायँ नाच प्रदर्सन गरिएको छ । सोमबार भएको फुलबारी दशै द्वादशी मेला तथा बृहत सांस्कृतिक कार्यक्रममा सरायँ नाच सँगसँगै रास्ट्रीय तथा स्थानीय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति समेत रहेको थियोे । सो कार्यक्रममा ख्याति प्राप्त राष्ट्रिय कलाकार प्युठानीकै छाेराहरु प्रचण्ड जिसी र बेगम नेपाली भट्भटे माइलाेकाे प्रस्तुतिले दर्शकलाई छमछमी नचाएका थिए ।

सोमबार झिमरुक गाउँपालिका वडा नम्बर ६, चिसावाङ्गमा द्वादशी मेला तथा सरायँ नाच प्रदर्सन गरिएको छ । सरायँ नाच हेर्नेको घुइँचो लागेको थियो । यो सरायँ नाच विभिन्न कोट र शक्तिपिठहरूमा नाचिन्छ । लामो समय रोकिएको द्वादशी मेला तथा सरायँ नाच विगत वर्षहरुबाट पुनः सुरु गर्न लागिएको फुलबारी दशै द्वादशी मेला तथा बृहत सांस्कृतिक कार्यक्रमका संयोजक हरिहर पोख्रेलले जानकारी दिनुभयो । स्थानीय कला संस्कृतिको जगेर्ना गर्दै लैजाने उदेश्यले मेला आयोजना गरिएको पोख्रेलले बताउनुभयो ।

प्यूठानका विभिन्न कोटघर र देवीका मन्दिरहरुमा हतियार जुधाएर नाच्ने परम्परागत सरायँ नाचले जिल्लामा रौनक सुरु भएको छ । दसैँ र तिहारसँगै प्यूठानमा नाचिने सरायँ नाचले जिल्लामा छुट्टै महत्त्व र रौनकता दिने गरेको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताउनुभयो । देवताले राक्षसमाथि विजयी हासिल गरेपछि टीका लगाउने र त्यसको खुशीयालीमा सरायँ नाच नाचिने गरिदै आएको बताउनुभयो । नयाँ पुस्ताले सरायँ नाचको अनुशरण गर्न नसक्दा ऐतिहासिक संस्कृति संकटमा परेको बेला यहाँका युवाहरुले ऐतिहासिक संस्कृति संरक्षणमा सक्रिय हुनु सकारात्मक भएको उहाँकैले बताउनुभयो ।

सरायँ नाच एउटा खेल हो। उहाँले भन्नुभयो, “पञ्चेबाजाको धुनमा हातमा खुकुरी, तरवार, खुँडा हातमा लिएर एकअर्काको ढाड जोडाउँदै युद्ध कौशलतामा खेल्ने चलन रहेको छ ।” ‘वाखै’ भन्दा छुट्टिने र ‘ह’ भन्दा ढाड जोडेर खेल्ने गरिन्छ । यो क्रम दशैको एकादशीदेखि शुरु भएर तिहारपछिको पूर्णीमासम्म कोटघर, दुर्गाभगवतीका शक्तिपीठहरु सरायँ नाच्ने परम्परा रहेको छ।

सरायँ नाचको आफ्नै पहिचान र मौलिक संस्कृति भएकाले यसको संरक्षण र संम्बद्र्धन गर्न आवश्यक रहेको गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले बताउनुभयो । ‘मौलिक संस्कृति जोगाउन यसको संरक्षण र सम्वद्र्धन गर्न सबै सरकारले महत्त्व दिनुपर्ने आवश्यक रहेको बताउनुभयो । जिल्लामा हरेक जातजाति धर्म समुदायले परम्परादेखि मनाउँदै आएको दशै र सरायँ नाचको महत्त्व धेरै रहेको र यि र यस्ता परम्पराले सामाजिक, सांस्कृतिकसँगै प्राकृतिक सम्बन्धलाई समेत बलियो बनाउदै आएकोले यसको संरक्षणमा जुट्नुपर्ने उहाँले बताउनुभयो ।

लुम्बिनी प्रदेशको खास गरि प्यूठान,अर्घाखाँची, गुल्मीमा यो नाचका लागि प्रख्यात मानिन्छ । अर्घाखाँचीको अर्घा, भण्डारथुम, गुल्मीको इम्मा, चोयगालगायतका कोटहरूमा दशैंदेखि कोजाग्रत पूर्णिमासम्म यो नाच चलिरहन्छ । त्यस्तै प्यूठानमा मुख्य गरेर बिजुलीकोट, ओखरकोट, भित्रीकोट, तुषाराकोट स्वाउलीबाङ, अर्खा, लगायतका क्षेत्रमा नाच्ने गरेको पाइन्छ । यसरी नाच्दा देवी भगवती प्रशन्न हुने धार्मिक जनविश्वास छ । पहिले पहाडी जिल्लामा मनाइने यो नाच अहिले तराईका जिल्लामा सुरू गरिएको छ । पछिल्लो समय बसाइँसराइ गरेर गएकाहरुले रूपन्देही, कपिलवस्तु, नवलपरासी, दाङका विभिन्न क्षेत्रमा एकादशीदेखि पूर्णिमासम्म यो नाच सुरु गरेको छन् ।

प्यूठान बिजुवारको डल्ले, चितिखोला सिवालय, खैरा फुलबारी, मरन्ठाना खरिबोटमा भने तिहारपछिको पूर्णिमाका दिनमा खेलिने परम्परा छ । पुरुषहरु मात्र खेल्ने सराएँ नाच अहिले महिलाहरु पनि सक्रियताका साथ सहभागिता हुने गर्दछन् । फुलबारी दशै द्वादशी मेला तथा बृहत सांस्कृतिक कार्यक्रममा रास्ट्रीय तथा स्थानीय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति समेत रहेको थियोे । कार्यक्रम अवलोकन गर्न सर्वसाधारण देखि जनप्रतिनिधि समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय