कास्की । सहकारी ठगी र सङ्गठीत अपराधमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतले छ दिन हिरासतमा राख्न अनुमति दिएको छ । शुक्रबार पक्राउ पर्नुभएका लामिछानेलाई आइतबार म्याद थपका लागि कास्की जिल्ला अदालत लगिएको हो । अब कास्की प्रहरीले बुधबारसम्म हिरासतमा राखेर लामिछानेलाई अनुसन्धान गर्न पाउनेछ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई छ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो । जिल्ला सरकारी वकिल कार्यालयका न्यायधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायायधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारी र पीडितको तर्फबाट वेदबहादुर विष्टले बहस गर्दै अनुसन्धानका लागि छ दिनको म्याद थप गर्न माग गर्नुभएको हो ।
लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त र नारायण घिमिरेले बहस गर्नुभयो । हिजो शनिवार सार्वजनिक बिदा परेका कारण आज अदालतमा उपस्थित गराइएको हो । पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिना अभियोगमा लामिछाने पक्राउ पर्नुभएको हो । संसदीय छानबिन विशेष समितिले सहकारीको रकम लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा आएको औँल्याउँदै आवश्यक छानबिन र कारबाही गर्न सिफारिस गरेको छ।



S.K. Creative Media Group