सरद बिष्ट
सदाको वर्षझै यो बर्ष पनि हाम्रो घर आँगनीमा झिलीमिली तथा उज्यालो पर्वको चाड तिहार आइसकेको छ । यस वर्षको तिहार कार्तिक १८ गते आइतवार बिहान ११ बजेर ५५ मिनेटको समयलाई उत्तम साइतको रुपमा लिएको छ । गाँउघरमा यसपालीको तिहार भब्य रुपमा मनाउने सुरसार भइरहेको छ । हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशै पछिको दोस्रो ठुलो चाड तिहारको बारेमा आज केहि कुरा लेखेर साक्षत्कार गर्ने जमर्को गरेको छु । सामान्यतया, तिहार भनेको के हो ?, तिहारमा हामी के के गछौं भन्ने कुरा त धेरैलाई थाहा नै छ । काग, कुकुर, गाई, लक्ष्मी, गोरुको पूजा र भाइटीकामा सम्झेर के के गछौं भनेर हामी भन्न सक्छौं । देउसी र भैंलो खेल्ने कुरा पनि छुटाउदैनौ । बर्षका सबैभन्दा ठुला चाड भएर पनि होला दशैं तथा तिहारमा हामी फरक ढङ्गले चाडपर्व मनाउने गर्दछौ ।
यो समय बिशेष गरेर न गर्मी न जाडो मौसम अर्थात् शरद ऋतुको याम हो । खेतीपातीको काम पनि खासै केहि नहुने, बर्षा पनि नहुने भएकोले बढो आनन्दको मौसम रहेको हुन्छ । त्यसैले असोज कार्तिकमा पर्ने यी ठुला महान चाडको आफ्नै प्रकारको बिशिष्ट महिमा छ । चाडपर्वमा झण्डै एक महिना जति बिद्यालयहरु पनि बन्द हुने भएकोले साना बालबालिकाहरुको लागि घरमा बसेर अर्थात मामा घरमा गएर रमाउने पर्वको रुपमा पनि तिहारलाई लिइन्छ । सबै धर्म, संस्कृतिमा चाडपर्वका आ-आफ्नै महत्व र बुझ्नैपर्ने सन्देश र शिक्षा रहेको हुन्छ ।
तिहारलाई विज्ञानसँग जोडेर हेर्ने हो भने यो पर्वले हामीलाई प्रकृतिप्रेम गर्न सिकाउँछ । तिहारमा पुजा गर्ने पन्छी र जनावरहरुको हिन्दुशास्त्र अनुसार आ-आफ्ःनै पौराणिक महत्व रहेको छ ।
पाँच दिनसम्म मनाइने भएकोले तिहारको पर्वलाई यमपञ्चक पनि भनिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो भन्ने विश्वास छ । तिहारको वेला पाँच दिनसम्म गरिने पूजामा पहिलो दिन कागको पूजा गरिन्छ । कागलाई पूजा गर्नृु भनेको सबै पन्छीहरु प्रतिको प्रेम हो । गाँउघरमा का-का भन्दै कराउदै उड्ने कालो रङको पन्छीले हाम्रो वरपर भएको वातावरणलाई सफा राख्न हामीलाई सघाएको हुन्छ । कागले सिनो र फालिएका खानेकुरा खाने गर्छ । झट्ट हेर्दा काग कराएको मानिसहरुले मन पराउदैनन् । घर छेउको अग्लो हरियोेेे रुखको हाँगामा आएर काग कराएमा शुभ हुन्छ र सुकेको रुखमा बसेर करायो भने घरमा अशुभ हुन्छ भन्ने किमबदन्ती व्यापक छ । त्यसैले सुकेको अग्लो हाँगोमा बसेर काग कराउन थाल्यो भने घरमा अशुभ हुन्छ भन्दै कागलाई भगाउने प्रचलन पनि छ । कागको आवाज सुरिलो पनि नहुने भएकोले हामीलाई कागको आवाज खास्सेै मन पर्दैन् । तर, जोखिमको अवस्थामा कागले कराएर सबै पशुपन्छीलाई सावधान गराउँछन् । कागहरु समुहमा बस्छन् । त्यसैले कागवाट सिक्ने र सचेत हुने सन्देश पाईन्छ । कागले एकपटक चिनेको अनुहार झट्टै बिर्सदैन् । एउटा काग मरेको अरु कागले देख्यो भने घेरिएर कराउदै बस्छन् । भए भरका कागहरु जम्मा हुन्छन् । त्यो काग के कसरी मरयो भनेर मृत्युको कारण खोज्छन् । आफ्नो समुहमा निकै एकजुट भएर लाग्न हिम्मत राख्ने क्षमता भएकोले पनि कागवाट धेरै शिक्षा पाइन्छ ।
तिहारमा दोस्रो दिन कुकुरको पुजा गरिन्छ । कुकुर निकै आज्ञाकारी प्राणी हो । धेरैजसो मानिसहरुलाई कुकुर बढी नै मन पर्छ । गाँउघरदेखि शहरसम्म कुकुर पाल्ने मान्छेहरुको संख्या धेरै छ । शहरमा त महङ्गा विदेशवाट ल्याएर समेत कुकुर पालेका छन् । मानिससँग कुकुरको नाता सदियौंदेखि आरम्भ भएको अनुमान गर्न सकिन्छ । मानब सभ्यताको विकास भएसँगैं मानिसले कुकुरलाई साथमा लिएर हिडेको पाइन्छ । इमान्दारिता र मान्छेप्रति निकै बफदार भएकोले पनि आजको युगसम्म आइपुग्दा मान्छेले कुकुरलाई असल र सहयोगी घरपालुवा प्राणीको रुपमा लिन थाल्यो । कुनै पनि कुरा सँुघेर पत्ता लगाउने क्षमताका कारण कुकुर प्रहरी र सेनाले गर्ने अनुसन्धानमा सबैभन्दा भरपर्दो साथी बनेको छ । कुकुरले हामीलाई सुरक्षा दिने गर्दछ । मानिसले सुन्ने आवाजको दूरीभन्दा चार गुणा टाढावाट कुकुरले सुन्न सक्छ । हामीलाई थाहा छ, अन्तरिक्षमा पुग्ने पहिलो जीव पनि लाइका कुकुर नै थियो । जुन सोभिएत संघले निमाणर् गरेको स्पुतनिक-२ नामक यानमा आजभन्दा ६७ बर्ष अघि अन्तरिक्षमा पठाएको थियो ।
तिहारको तेस्रो दिनमा पुजा गरिने अर्को प्राणीको नाम हो गाई । नेपालमा गाई राष्ट्रिय जनावर पनि हो । हिन्दु शास्त्रमा गाईको गरिमा र महिमा अति नै छ । परापूर्वक कालदेखि मान्छेले गाई पाल्दै आएका छन् । गाईले दूध दिन्छ, गाईले गोब्रयाउँछ । दूध र गोबर दूवै हाम्रा लागि काम लाग्ने कुरा हुन् । गाईको पिसावलाई समेत पुजाआजा गर्दा र कुनै शुद्धि शान्ति गर्दा समेत गहतको रुपमा नामाकरण गरेर खाने गरिन्छ । पुजाआजा गर्दा गाईको गोबरले घर लिप्दा वा पोत्दा घर पवित्र हुन्छ भन्ने धार्मिक मान्यता रहेको छ । सूर्यवाट पृथ्वीमा आउने विभिन्न हानिकारक विकरणलाई गाईले सोस्ने काम गरेर वायुमण्डललाई सफा र स्वच्छ राख्ने काम गर्दछ । बहृामणले समेत अरु जनावर केहि पनि नपालेर घरमा गाई पाल्नुको कारण र रहस्य पनि धेरै छ । गाइको दुधवाट दहि, घ्यु, र महि पनि बन्ने गर्दछ । जुन कुरा मानब स्वास्थ्यको लागि अति नै उपयोगी र महत्वपूणर् छ ।
तिहारमा धनकी देवी भनेर लक्ष्मीको पूजा गरिन्छ । सफासुग्घर घरमा लक्ष्मीको वास हुन्छ भन्ने धार्मिक मान्यता छ । त्यसैलाई मध्यनजर गर्दै तिहारको वेला घर पोत्ने, लिप्ने, कोठाहरु सफा राख्ने, नयाँ घरहरुमा रङ्गहरु पेन्टिङ्ग गर्ने लगाएत विभिन्न कार्यहरु गर्ने गरिन्छ । लक्ष्मी पूजाको दिन घरको झ्याल, ढोका, पूजा कोठा, कौसी, बरेन्ट र गेटमा झिलीमिली बत्ती बालेर तिहारलाई उज्यालो पर्वको रुपमा परिचित गराइन्छ ।
तिहारमा पुजिने जनावर गोरु पनि हो । बिभिन्न देशमा गाईगोरुको समहूले वनलाई डढेलो लाग्नबाट जोगाउदै आएका छन् । समुहमा जम्मा भएर घाँस खान्छन् । हामीलाई थाहा छ, वर्षमा एकपटक बढ्ने घाँस पुनः काट्नुपर्छ कि जमिन जोत्नुपर्छ । त्यसो गरिएन भने घाँस सुक्छन् । सुकेको घाँसमा आगो लागेर बनमा डढेलो लाग्न सक्छ । त्यसैले खुला चरिचरनमा छाडिने गाईगोरुले घाँस खाइदिएर आगोलागीको जोखिमलाई कम गरेका छन् । गाडी तथा सवारी साधनको विकास नभएको उ वेलाको पुरानो जमानामा पनि सामानहरुको ढुवानी तथा जमिन जोत्नको लागि गोरुको अत्यधिक प्रयोग भएको पाईन्थ्यो । सडक नपुगेको र ट्याक्टर चलाउन नसकिने ठाँउमा खेतवारी जोत्नको लागि अझै पनि गोरुको आवश्यकता भईरहेको छ ।
खासमा लक्ष्मीपूजाको दिन भैलो र गोरु तिहारको दिन देउसी खेल्ने चलन हो । समूहमा खेलिने भएकोले देउसीभैलोले आपसमा मित्रता राख्नुपर्ने सन्देश दिन्छ । तर, व्यवहारमा त्यसो देखिएको पाइदैन् । हिजोआज तिहारको मौलिकता हराउदै गएको छ । चाडपर्व निकै भड्किलो र खर्चिलो गराउनु राम्रो पक्ष होइन् । तिहारमा के कसरी भट्याउने ?, के कस्ता गीतहरु गाउने भन्ने विषयमा नयाँ पुस्ताहरुको अन्योल छ । तिहारमा मादल, बाँसुरी, झ्याली र मजुरा सहितको खेलिने देउसी-भैलो र सिंगारु नृत्य विस्तारै लोप हुने खतरा बढेको छ । पश्च्मिा संस्कृतिको प्रभाव बढेको कारणले गर्दा हाम्रो पुरानो लोक संस्कृति लोप हुदैछ । यस वारे सबैको ध्यान जान जरुरी छ ।
त्यसैगरि तिहारको अन्तिम अर्थात पाचौं दिन हो भाइटीका । भाइटीका दाजुभाई र दिदीबहिनीबीच माया, प्रेम र स्नेह बढाउने दिनको रुपमा लिईन्छ । तिहारको पौराणिक कथाले जे भनेपनि धेरै दिन तथा महिनाहरुसम्म भेटघाट नभएका दाजुभाई तथा दिदीबहिनीहरु यो दिनको लागि जसरी भएपनि भेटघाट हुने गर्दछन् । माइती र चेलीको सम्बन्ध प्रगाढ बनाउन यो दिनले बिशेष भूमिका खेलेको हुन्छ । यो दिनमा लगाइने सप्तरङ्गी टिकामा प्रयोग गरिने वस्तु सबै बनस्पतिबाटै बनाइएका हुन्छन् । तिहारमा खाने परिकारले जाडोयामका लागि हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्धत गर्छ ।
झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि नै राजधानी लगाएत प्रमुख शहरमा थरी थरीका बत्ती बाल्न शुरु भईसकेको हुन्छ । यस अवसरमा विकृतिको रुपमा फैलिएको पटाका पट्काउनाले गर्दा दुर्घटना पनि हुने गरेको छ । पटका पट्काउँदा होशियारी भएन भने घरमा आगलागी हुने, आँखा फुट्ने र शरीरको अङ्गभङ्ग हुने जस्ता खतराहरु हुने भएकोले त्यस्ता कार्यमा बालबालिकाहरुलाई सहभागी गराउनु हुदैन् । सबै मिलेर तिहार पर्व मनाउनुपर्छ । तपाईहरु सबैलाई तिहारको शुभकामना छ ।



S.K. Creative Media Group