काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको १ सय १०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारु व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको योगदान २०४६ सालमा महत्वपूर्ण थियो । जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनका सर्वोच्च कमान्डर भई नेतृत्वदायी भुमिका निर्वाह गर्नुभएको थियो । त्यो बेला उहाँ सबैको प्रिय बन्नुभएको थियो।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको २०५४ असोज २ गते निधन भएको हो। काठमाडौंमा जन्मिएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनु भएको थियो ।

गणेशमान जयन्तीका अवसरमा फाउन्डेसनले जिल्ला जिल्लामा कार्यक्रम गर्न लागेको जनाइएको छ । यस अवसरमा आज भक्तपुरको कटुञ्जेस्थित गणेशमान सिंह वाटिकामा मानवअधिवारवादी नेता प्रा कपिल श्रेष्ठलाई विशेष सम्मान गर्न लागिएको छ । शोभाभगवतीस्थित गणेशमान सिंहको प्रतिमामा माल्र्यापणसहित विशेष कार्यक्रम गर्न लागिएको हो ।

गणेशमान जयन्तीका अवसरमा नेपाली कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक सङ्घसंस्थाले आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउने जनाइएको छ । यस अवसरमा गणेशमान सिंह प्रतिष्ठानले रत्नपार्कस्थित शान्तिवाटिकामा कार्यक्रम गर्ने जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय