काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीति स्थायित्व हुने हो भने देश निर्माणको लागि धेरै समय नलाग्ने बताउनुभएको छ ।
विराटनगरमा मंगलबार नेकपा एमाले संगठन कमिटी मोरङकोद्वारा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पोखरेलले देश विकासको लागि राजनीतिक स्थायित्व आवश्यक पर्ने बताउनुभयो । पोखरेलले अन्य देशले गरेको विकासलाई हेरेर नेपालका राजनीतिक दललाई गाली गर्ने भन्दा पनि नेपाली मौलिकताको विकास मोडल अघि बढाउनु पर्नेमा जोड दिनुभयो ।
नेपालको विकास तेल बेचेर धनी भएका अरबियन मुलुक जस्तो सोचेर नहुने उहाँको धारणा छ । नेपालको विकास रातारात हुने खालको विकास नभएको उहाँले बताउनुभयो । नेपालको विकास सरकारले एक्लै गर्न नसक्ने उहाँले प्रष्ट पार्नुभयो । ‘नेपालको विकासको ढाँचा जनतालाई साथमा लिएर विकास गर्ने ढाँचा हो’, उहाँले भन्नुभयो ।
नेकपा एमाले देशमा स्थायित्व र स्थिरताको लागि लडिरहेको पार्टी भएको उहाँले दाबी गर्नुभयो । त्यसैले अहिले एमाले र एमालेको नेतृत्व माथि प्रहार भइरहेको उहाँले बताउनुभयो ।
एमालेसँग भएको विशाल कार्यकर्ताको समूह चुनाव जित्नको लागि मात्र होइन समाज बदल्न सक्ने सामर्थ्य राख्ने शक्ति भएको उहाँले बताउनुभयो । एमालेको लक्ष चुनाव जित्ने मात्र नभएर समाज परिवर्तनको भएको पनि उहाँले स्पष्ट पार्नुभयो ।
कमजोरहरूले शासन गर्न थालेपछि सरकार प्रति जनताको विश्वास नरहेको उहाँले बताउनुभयो । त्यसैले देश ओरालो गतिमा लागेको पोखरेलको भनाइ छ । ‘स्वाभाविक रूपमा मुलुक संकटमा पर्नुको कारण त्यही हो’, पोखरेलले भन्नुभयो ।
पोखरेलले एमाले सिद्ध्याउन धेरै शक्ति लागेका भए पनि उनीहरू सफल नभएको बताउनुभयो । अहिले एमाले सिद्ध्याउन खोज्नेहरूको मन पोलेको उहाँले टिप्पणी गर्नुभयो ।


S.K. Creative Media Group