धनगढी । दार्चुलामा यात्रु बोकेको जिप दुर्घटना भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका-६ को बकजेबलामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको हो ।

प्रहरीकाअनुसार स्थानीय मालिकार्जुन मन्दिरमा लागेकाे जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बाेकेकाे म १ ज ३३८ नम्बरको जीप शुक्रबार बिहान ४ बजेतिर दुर्घटनामा परेकाे हाे ।

शुक्रबार बिहानसम्म घटनास्थलबाट ६ जनाको शव निकालिएकोमा अस्पताल पुर्‍याइएका गम्भीर घाइते मध्ये थप दुई जनाको मृत्यु भएपछि ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा दुई जना भारतीय नागरिक यूपी(उत्तर प्रदेश) का ४५ वर्षीय मोहम्मद सफीर, १८ वर्षीय मोहम्मद बसिर रहेको प्रहरीले जनाएको छ। त्यस्तै शैल्यशिखर नगरपालिका- ९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, ३० वर्षीय वीरेन्द्र रावल, उहाँकी श्रीमती २८ वर्षीया शान्ति रावल, शैल्यशिखर-५ बस्ने ४० वर्षीया मीना लेखकको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक राजिव बस्नेतले जानकारी दिनुभयो । बैतडीको डिलासैनी गाउँपालिका-५ नगराउँका १५ वर्षीय सुदिप बोहरा र ५० वर्षीय वीरेन्द्र बोहराको पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा जीप चालक मालिकार्जुन गाउँपालिका-८ पस्तीका ३० वर्षीय सुनिल जोशी सहितका ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

सबै मृतकको सनाखत भएको र मृतक मध्ये दुई जना भारतीय नागरिक, दुई जना बैतडीको डिलासैनी गाउँपालिका र अन्य ४ जना शैल्यशिखर नगरपालिकाका रहेको प्रहरीले जानाएको छ।

जिप सडकबाट करीब एक सय मिटर सडकबाट तल खसेको छ । दुर्घटनाको कारण भने खुलेकाे छैन । दुर्घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय