काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षसम्मका बालबालिकाको क्यान्सरको उपचार निःशुल्क गर्ने भएको छ । आइतबारबाट जन्मदेखि १४ वर्षसम्मका बालबालिकालाई क्यान्सर रोगको निःशुल्क उपचार सुरु गरिएको हो ।
सरकारको निर्णय अनुसार आइतबारदेखि १४ वर्षसम्मका बालबालिकाको क्यान्सरको उपचार निःशुल्क गर्न लागिएको अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसेले जानकारी दिनुभयो । उहाँले एकदेखि १४ वर्षसम्मका बालबालिकाको क्यान्सर उपचारमा कुनैपनी शुल्क नलाग्ने गरि पूर्ण रूपमा निःशुल्क गरिएको बताउनुभयो ।
डा. चालिसेका अनुसार भक्तपुर क्यान्सर अस्पतालमा वार्षिक सरदर १५० जना बालबालिका क्यान्सर उपचारको लागि बिरामी आउनेगरेको बताउनुभयो । अब यो संख्यामा केही बिरामी बढ्न सक्ने उहाँले जानकारी दिनुभयो ।
उहाँले बालबालिकालाई सबैभन्दा बढी रक्त क्यान्सर हुने गरेको जानकारी दिनुभयो । रक्त क्यान्सरबाहेक मस्तिष्क क्यान्सर, कलेजोको क्यान्सर, मिर्गौलाको क्यान्सर लागेका बिरामी बालबालिका उपचारका लागि आउने गरेका छन् ।
नेपालमा सरकारी अस्पतालमध्ये भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बालबालिकाको क्यान्सर उपचार हुने गरेको छ ।
बालबालिकाकाको लागि क्यान्सरमा आवश्यक ३५ प्रकारका औषधी निःशुल्क प्रदान गरिने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार क्यान्सर उपचारमा लाग्ने औषधीका लागि विश्व स्वास्थ्य सङ्गठनसँग सहमति गरिएको जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तिन सरकारी अस्पतालमार्फत १४ वर्षमुनिका बालबालिकाका लागि क्यान्सर उपचार निःशुल्क गराउन यसअघि नै मन्त्रीस्तरीय निर्णय गर्नुभएको छ ।
मंसिर एक गतेदेखि तिन सरकारी अस्पताल कान्तिबाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा बालबालिकाले उपचार सेवा पाउने गरि गत कात्तिक ११ गते मन्त्रीस्तरीय निर्णय गरेसँगै अस्पतालले उक्त निर्णयलाई कार्यान्वयनमा ल्याएको हो।
नेपालमा सन् २०२२ मा २२ हजार नयाँ बिरामी देखिएकामा १४ हजार बढीले ज्यान गुमाएको पाइएको छ । नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ तथ्यांक रहेको छ ।
क्यान्सरका बिरामी बालबालिकालाई परिवारको आर्थिक अभावमा ज्यान गुमाउन नपरोस् भनेर समयमै उपचार गरेर ज्यान बचाउन यो उपचार निःशुल्क गरेको मन्त्रालयले निर्णय गरेको हो।



S.K. Creative Media Group