अनिल खत्री
गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको आफ्नै भवन निर्माण भएको छ । गुल्मी जिल्लामा पनि १२ स्थानीय तहमध्ये अझै पनि स्थानीय सरकार आफनै प्रशासनिक भवन नहुँदा भाडाको घरबाट सेवा प्रवाह गर्दै आएका छन् ।
मुसिकोट नगरपालिकाको वडानम्बर ७ वामीटक्सारमा नवनिर्मित प्रशासनिक भवनको पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो ।
भवनको उद्घाटना गर्दै ओलीले छिटो छरितो ढंगले सेवा प्रधान गर्न आग्रह गर्नु भयो । भनवलाई डिजिटलाइज गरेर सेवाप्रवाहलाई सहज रुपले प्रधान गर्न जोड दिनुभयो ।
भवन उद्घाटन कार्यक्रममा निर्माण व्यवसायी हरिकुमार श्रेष्ठ र जग्गा दाता शोभाखर सापकोटा, लोकबहादुर पन्थी, हरिलाल सापकोटा, सीता सापकोटा, टीकाराम सापकोटा, नरबहादुर काफेलेलाई सम्मान समेत गरिएको थियो । २२ रोपनी क्षेत्रफलमा तयार भएको भवनको ११ रोपनी जग्गा निशुल्क रुपमा प्रदान गरेका थिए ।
बाँकी जग्गा नगरपालिकाले खरिद गरेको प्रमुख प्रशासकीय अधिकृत बिनोद कुँवरले बताउनुभयो । आधुनिक शैलीमा निर्माण गरिएको ४ तले भवनमा सभाहल सहित लिफ्ट सिस्टम समेत राखिएको छ ।
भवनको कुल लागत १५ करोड ३० लाख ६५ हजार ४०८ रुपैयाँको लागत स्टेमेट तयार गरिएको थियो । भवन श्रेष्ठ महादेव खिम्ती जेभीले ८ करोड ४८ लाख ११ हजार ४२० रुपैयाँको लागतमा निर्माण गरेको नगरपालिकाले जनाएको छ ।
निर्माण व्यवसायीले हालसम्म ८ करोड २२ लाख ५ हजार ७३२ रुपैयाँ भूक्तानी गरिसकेको नगरपालिकाले जनाएको छ । २०७३ साल फागुन २२ मा नगरपालिका स्थापना भएदेखि हालसम्म भाडाको घरबाट प्रशासकीय सेवा प्रदान गर्दै आएको थियो ।
नगरपालिकाले हाल मासिक ४८ हजार ४ सय रुपैया प्रशासनिक कार्यालयको भाडामै खर्चिने गरेको थियो । नगरका ९ वटा वडा मध्ये ४ वटा वडा कार्यालय अझै भाडामा छन् ।
भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको मुसिकोट नगरको आफनै भवनबाट सेवा दिनथालेसँगै बर्सेनि लाखौं रकम भाडामै खर्चिनु पर्ने बाध्यता अत्य भएको नगरप्रमुख जीवन खरेलले बताउनुभयो । अव आफनै भवन बनेकाले नागरीकहरुलाई सेवा सुविधा दिन सजिलो हुने खरेलले बताउनुभयो ।
भवनको निर्माण व्यवसायीले तोकिएकै समयमा भवन निर्माणको काम सम्पन्न गरेका छन् । नवर्निमित भवनबाट प्रशासनिक काम हुन अझै केहिसमय लाग्ने छ ।
नगरप्रमुख र उपप्रमुखले नयाँ भवनबाटै सेवा प्रवाह गरेपनि अन्य शाखागत कार्यालयको सामाग्री सार्ने काम बाँकी रहेको छ । नवनिर्मित भवनमा फर्निचर लागाएतको काम हुन बाँकी रहेकोले अबको २ हप्तापछि भित्र सम्पुर्ण काम सम्पन्न हुने प्रमुख प्रशासकीय अधिकृत कुँवरले बताउनुभयो ।