प्यूठान । जिल्ला सदरमुकामको फोहोरमैला व्यवस्थापन गर्न लागिएको छ । सदरमुकाममा पर्ने मल्लरानी गाउँपालिकाले सदरमुकाम खलङ्गा बजार क्षेत्रको फोहोरमैला व्यवस्थापन गर्न लागेको हो ।
बजार क्षेत्रमा फोहोर व्यवस्थापन गर्न समस्या हुने भएकाले यसको व्यवस्थापन गर्न लागिएको गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले बताउनुभयो । “व्यापार व्यवसाय, कार्यालय र स्थानीयहरुबाट नसड्ने फोहोर सङ्कलन गरेर फोहोर व्यवस्थापन केन्द्रमा लैजान्छौं,” उहाँले भन्नुभयो, “त्यसका लागि पालिकाले फोहोर बोक्ने गाडीको सम्झौता गर्दैछ ।” फोहोर सङ्कलन र व्यवस्थापनलाई व्यवस्थित बनाउन सरोकारवालासँग छलफल गरिएको उहाँले बताउनुभयो ।
मल्लरानी गाउँपालिकाको ४ नम्वर वडा स्थित वन क्षेत्रमा फोहोर फाल्ने ठाउँ बनाइएको छ । सदरमुकामदेखि ११ किलोमिटर टाढा रहेको उक्त स्थानलाई डम्पिङ साईटको रुपमा नभएर व्यवस्थापन स्थलको रुपमा विकास गर्ने योजना रहेको उपाध्यक्ष रमेश कुमार श्रेष्ठले बताउनुभयो । देशव्यापी रुपमा फोहोरमैला व्यवस्थापनको विषय जटिल बनेको बताउँदै उहाँले पालिकामा व्यवस्थित तवरले फोहरमैला सङ्कलन र व्यवस्थापनका लागि कार्यविधि समेत तयार गरिएको जानकारी दिनुभयो ।
स्थानीय सरकार बनेको लामो समयसम्म फोहोरमैला व्यवस्थापन नहुँदा सार्वजनिक स्थलमा फोहोर फाल्ने गरिएको छ । फोहोर व्यवस्थापन गर्दै सदरमुकाम खलङ्गालाई सुन्दर र हरित सदरमुकामको रुपमा विकास गर्ने पालिकाको योजना रहेको छ ।




S.K. Creative Media Group