प्यूठान । महिला शसक्तिकरण कार्यक्रम अन्र्तगत मल्लरानी गाउँपालिका वडा नम्वर २ ले स्थानीय महिलालाई पञ्चेबाजाको तालिम दिएको छ । चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट वडाले पञ्चेबाजा बजाउने तालिम सञ्चालन गरेको हो ।
स्थानीय महिलाहरुको शसक्तिकरण र आयआर्जनका लागि १० दिने तालिम सञ्चालन गरेको वडा अध्यक्ष लेख बहादुर थापाले बताउनुभयो । ३० जना महिलालाई तालिम दिएको उहाँको भनाई छ । केहि बाजा बजाउनका लागि १÷२ जना पुरुषलाई समेत समुहमा सहभागी गराएर तालिम दिएको उहाँले बताउनुभयो । “पुरुषहरुले मात्र बाजा बजाउने चलन थियो,” उहाँले भन्नुभयो, “महिलाहरुलाई सिकाउन सके व्यवसायमा जोड्न सकिने भएकाले तालिम दिएका हौं ।” यो तालिमपछि महिलाहरुको आयआर्जनमा टेवा पुग्ने वडाको अपेक्षा छ ।
तालिममा बाजाका विभिन्न तालहरुको बारेमा सिकाइएको प्रशिक्षण डिल बहादुर नेपालीले बताउनुभयो । “पहिलो पटक बाजा बजाउनुभएका महिलाहरुले राम्रो सिक्नुभएको छ,” उहाँले भन्नुभयो,“यसलाई निरन्तरता दिनुभयो भने राम्रो गर्नुहुन्छ जस्तो लागेको छ ।” यस क्षेत्रमा पञ्चेबाजा बजाउने समुह समेत नभएकाले राम्रो अवसर हुनसक्ने उहाँको भनाई छ ।
वडाले महिला शसक्तिकरणका लागि पञ्जेबाजाको तालिम नै राखेपछि गाउँका महिलाहरु उत्साहित भएर तालिममा सहभागी भएको स्थानीय निर्मला पौडेलले बताउनुभयो । “बाहिर जिल्लामा र जिल्लाकै अरु ठाउँमा महिलाहरुले तालिम लिएको, सिकेको सुनेका थियौ,” उहाँले भन्नुभयो,“हामीले पनि तालिम लिएका छौं, व्यवसायीक रुपमा अघि बढ्ने योजना छ ।” तालिम छोटो अवधि भएकाले आगामी दिनमा थप तालिमको व्यवस्था गर्नुपर्ने उहाँको भनाई छ । त्यसैगरी वडाले बाजा खरीद गर्न समेत सहयोग गनुपर्ने सहभागी महिलाले माग गरेका छन् ।