प्यूठान । जिल्लाका जेष्ठ नागरिक र अशक्त व्यक्तिलाई घरदैलोमै पुगेर स्वास्थ्य सेवा दिन थालिएको छ । ८० वर्ष उमेर माथीका जेष्ठ नागरिक र क र ख वर्गका अशक्त व्यक्तिलाई घरदैलोमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्न थालिएको हो ।
स्थानीय तहसगँ सहकार्य गरेर स्वास्थ्य कार्यालय प्यूठानले यो अभियान चलाउन थालेको छ । पुस ११ गते देखि १७ गते सम्म सप्ताहब्यापी कार्यक्रम गरेर घरमै पुगेर सेवा दिन लागिएको कार्यालयका निमित्त प्रमुख मधुसुदन खड्काले बताउनुभयो । ज्येष्ठ नागरिक तथा अशक्तको घरमा पुगि उनीहरुको स्वास्थ्य परिक्षण, सुगर प्रेसर जाँच, परामर्श तथा रेफर, सहायक सामाग्री वितरण, आबश्यक औषधी बितरण गरिने उहाँले बताउनुभयो ।
लुम्बिनी प्रदेश सरकारको सहयोगमा यो अभियान सञ्चालन गर्न लागिएको हो । जिल्लाभरका नौ वटै स्थानमा एकसाथ अभियान सञ्चालन हुनेछ । प्रत्येक पालिकाले स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गरि फिल्डमा खटाउने योजना छ । लक्षित वर्गका सवै व्यक्तिलाई समेट्ने गरि योजना बनाएको कार्यालयले जनाएको छ ।
सरकारले लिएको नीति सकारात्म भएपनि व्यवहारीक रुपमा कार्यान्वय गर्न स्थानीय सरकार जिम्मेवार बन्नुपर्ने राष्ट्रिय अपाङ्ग सेवा संघका केन्द्रीय सदस्य जुमानसिंह केसीले बताउनुभयो । “लक्षित वर्गले यो सेवा पाउनुपर्छ,” उहाँले भन्नुभयो, “तोकिएका लक्षित वर्ग छुट्नु भएन ।” यो अभियानले पूर्ण रुपमा अशक्त भई स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने सेवाग्राहीलाई राहत हुने उहाँको भनाई छ । सेवाबाट जिल्लाका ४ हजार ३२५ जना व्यक्ति लाभान्वित हुने कार्यालयले जनाएको छ ।



S.K. Creative Media Group