प्यूठान । नेकपा (माओवादी केन्द्र)का उप–महासचिव वर्षमान पुनले नेकपा (माओवादी केन्द्र) २०८४ सम्म प्रतिपक्षको भूमिका रहने स्पष्ट पार्नुभएको छ । उहाँले पार्टीलाई सरकारमा जान कुनै हतारो नभएकाले मिसन ०८४ मा केन्द्रित रहेको बताउनुभयो ।
प्रेस सेन्टर नेपाल प्यूठानले सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा नेता पुनले अहिलेको सरकार र प्रधानमन्त्रीमा दम्भ र निरंकुशता हावी देखिएको भन्दै भ्रष्टाचारीलाई संरक्षण र प्रसय दिएको आरोप लगाउनुभयो ।
“हामीलाई सरकारमा जान कुनै हतारो छैन, पार्टीले सरकार परिबर्तनमा चियो चर्चो नै गरेको छैन,” उहाँले भन्नुभयो, “पार्टी अहिले मिसन ०८४ मा केन्द्रित छ । तर, सुरुवात भएका राम्रा कामको निरन्तरताका लागि सरकारलाई खबरदारी गर्न चाहन्छौं । सुशासन र समृद्धिको यात्रामा काम गर्दा सरकारलाई साथ दिन चाहन्छौं । भ्रष्टाचारीलाई संरक्षण गरिए संसद र जनताका बीचमा रहेर खबरदारी गर्छौ ।” नेकपा (माओवादी केन्द्र)का उप–महासचिव समेत रहनुभएका पुनले सरकारको काम गर्ने शैलि परिवर्तन हुनुपर्ने बताउनुभयो ।
नेपाल सरकारका पूर्व अर्थमन्त्री वर्षमान पुनले सहकारीको नियमन गर्नका लागि अधिकार सम्पन्न निकाय बनाउनुपर्ने बताउनुभएको छ । पूर्व अर्थमन्त्री पुनले बचत तथा ऋण सहकारीहरु नियमन गर्ने निकाय बलियो हुनुपर्ने धाराणा राख्नुभएको हो । “कालो धनलाई सेतो बनाउन खोज्दा सहकारीको दुरुपयोग भएको छ,” उहाँले भन्नुभयो ।



S.K. Creative Media Group