बर्दिया । जिल्लामा ५ हजार ७ सय ६८ जना विद्यार्थीले विद्यालय छाड्दै गएको पाइएको छ । शिक्षा विकास तथा समन्वय इकाइका अनुसार ५ हजार ७ सय ६८ जना विद्यार्थीले विद्यालय छोडेको पाइएको हो ।
शैक्षिक वर्ष ०८० मा कक्षा १ देखि ९ कक्षामा पढ्ने विद्यार्थीको सङ्ख्या ८३ हजार ६ सय ७२ रहेको थियो । तर शैक्षिक वर्ष ०८० का भर्ना भएका विद्यार्थी एक तह स्तर माथि पुग्दा ७७ हजार ९ सय ४ रहेको थियो । एक शैक्षिक वर्षबाट अर्को शैक्षिक वर्षमा पुग्दा ५ हजार ७ सय ६८ जना विद्यार्थीले विद्यालय छोडेको शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत शेरबहादुर रोकाले बताउनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख सूर्य बहादुर खत्रीले परिवारको आर्थिक अवस्था कमजोर भएर बाल मजदुरी गर्नु, रोजगारीका अवसर नहुँदा न्यून आयआर्जन हुनु, परिवारका अभिभावक कमाउन जाँदा अभिभावकसँग भएका बालबालिकासँगै जानु, कम उमेरमा विवाह गर्ने जसका कारण विद्यालय जान लाज मान्ने र लागु औषधको प्रयोग गर्ने बानी परेकाहरू विद्यालय नजाने, लगायत विद्यालय छोड्नुको प्रमुख कारणमा भएको बताउनुभयो ।
पढेर पनि रोजगारीको अवसर नहुनु, गरिबीका कारण किताब, कपी किन्न नसक्नु, विद्यार्थीमा बसेको मोबाइलको लत र मोबाइलको चरम दुरुपयोग लगायतका कारणले विद्यालय छोड्ने विद्यार्थीको बढेको बगलामुखी राधाकृष्ण थारु माध्यामिक विद्यालयका प्रधानाध्यापक मतिराम शर्माले बताउनुभयो । उहाँले भन्नुभयो – ‘अभिभावक अशिक्षित भएका परिवारका विद्यार्थीहरूले विद्यालय छोड्ने गरेको छन् । विशेष गरी कक्षा ८, १० मा पढ्ने विद्यार्थीहरूले बढी विद्यालय छोडेका छन् ।’
जनता माध्यामिक विद्यालय, रम्मापुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज पौडेलले विद्यालयमा विद्यार्थीलाई टिकाइ राख्नका लागि व्यवहारिक र जीवन उपयोगी शिक्षा पद्धति, विद्यालयमा शैक्षिक वातावरणको निर्माण, विद्यार्थीमैत्री अतिरिक्त क्रियाकलापको सञ्चालन गर्नुपर्ने बताउनु भयो । उहाँले विद्यार्थीको साथसाथै अभिभावकलाई शिक्षाको महत्त्वको बारेमा सचेतना जगाउन जरुरी रहेको बताउनु भयो । उहाँले भन्नुभयो – ‘विद्यालय पढ्न गएका अभिभावकले आफ्नो छोराछोरीको पढाइको बारेमा बुझ्न विद्यालय जाने गर्नुपर्छ । अभिभावक सचेत भएर बालबालिकाको अवस्था मात्र बुझ्न भने पनि विद्यालयमा विद्यार्थी टिकाउन सकिन्छ । विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्यामा कमी ल्याउन सकिन्छ ।’
नेपालको संविधानको धारा ३१ मा शिक्षा सम्बन्धी हकको उपधारा २ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यामिक तहसम्मको शिक्षा निःशुल्क पाउने हकको व्यवस्था गरेको छ । तर आर्थिक अभाव, कम उमेरमा विवाह जस्ता कारणले विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको छ । इन्सेक अनलाईनबाट



S.K. Creative Media Group