प्यूठान । झिमरुक गाउँपालिकाले अपांगता भएका तीन जना ब्यक्तिलाई घरमै पुगेर अपांगता परिचय पत्र प्रदान गरेको छ । पुर्ण अशक्त तीन जनालाई घरमै पुगेर परिचय पत्र वितरण गरिएको हो ।
झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेल सहितको टोलीले उनिहरुको घरमै पुगेर परिचय पत्र उपलब्ध गराएको हो ।
शारीरिक रूपमा पूर्ण अशक्त रहेका झिमरुक-४,बाङ्गेकी खिमा खत्री, झिमरुक -१,बिडडाडाका खक बहादुर घर्ती र झिमरुक- ५ ओखरकोटका सफल जिसिलाई घरमै पुगेर क बर्गको पुर्ण अशक्त परिचयपत्र दिइएको उपाध्यक्ष पोखरेलले बताउनुभयो ।
उनीहरु हिंड्न समेत नसक्ने व्यक्ति भएको जानकारी पाएपछि परिचयपत्र दिन घरमै गएको पोखरेलको भनाई छ । यसअघि पनि पालिकाले पुर्ण अपांगता भएका ब्यक्तिलाई घरमै पुगेर परिचय पत्र दिएको उपाध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।
यस्तो छ अपांगता परिचय पत्रको वर्गीकरण
अपांगता भएका ब्यक्तिले चार प्रकारको परिचय पत्र पाउने गर्दछन । अपांगताको प्रकृतिको आधारमा क, ख, ग र घ वर्गको परिचय पत्र दिने ब्यवस्था रहेको राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेश सचिवालय सदस्य जुमान सिंह केसीले बताउनुभयो । क बर्गले मासिक ३ हजार ९ सय ९०, ख बर्गले मासिक २ हजार १ सय २८ रुपैयाँँ सामाजिक सुरक्षा भत्ता पाउने गर्दछन ।
ग र घ वर्गले मासिक भत्ता नपाए पनि राज्यका बिभिन्न निकायमा छुट सेवा पाउने केसीको भनाई छ । झिमरुक गाउँपालिकाले गरेको काम सराहनीय रहेको भन्दै जिल्लाका अरु पालिकाले पनि पूर्ण अशक्तलाई घरमै पुगेर वितरण गर्नुपर्ने उहाँको सुझाव छ ।
‘नितीगत व्यबस्था पनि छ,’ उहाँले भन्नुभयो, ‘अरु पालिकाले पनि कार्यान्वयन गर्न जरुरी छ ।’ जिल्लामा परिचय पत्र वितरण गर्दा एक रुपता हुन नसकेको उहाँको भनाई छ । नितीमा एक रुपता भएपनि बितरणमा फरक देखिएको सदस्य केसीले बताउनुभयो । अपांगता भएका ब्यक्तिको सहि पहिचान हुन नसक्दा उक्त समस्या भएको केसीले बताउनुभयो । ‘दक्ष जनशक्ति को अभाव र राजनीतिक प्रभाव समेत देखिन्छ,’ उहाँले भन्नुभयो ।
विशेषज्ञ डाक्टरको अभाव
जिल्लामा कान र आँखाको विशेषज्ञ नहुदा परिक्षण गर्न बुटवल काठमाडौ जानुपर्ने बाध्यता समेत रहेको छ । जसले गर्दा अपांगता भएका ब्यक्ति परिचय पत्र पाउनबाट बन्चित भएको केसीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसमा हामीले पनि सहजीकरण गरिरहेका छौँ ।’ जिल्लामा करीब छ हजार अपांगता भएका ब्यक्ति रहेका छन ।



S.K. Creative Media Group