प्यूठान । गौमुखी गाउँपालिकाले सञ्चालन गरेको विशेषज्ञ डाक्टर (एमविविएस) सहितको स्वास्थ्य सेवा एक वर्षदेखी ठप्प भएको छ । गाउँपालिकाको केन्द्र पुँजा लिवासे स्थित पुँजा स्वास्थ्य चौकीबाट विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य सेवा ठप्प भएको हो ।
०८० माघदेखी डाक्टर नहुँदा गाउँपालिका क्षेत्रका विरामी मर्कामा परेको स्थानीय जनक बहादुर केसीले बताउनुभयो । “डाक्टर नहुँदा जनतालाई समस्या भएको छ,” उहाँले भन्नुभयो, “एक्सरे मेसिन, ल्याव सेवा, इसिजी मेसिन समेत अलपत्र परेका छन् ।” उहाँले डाक्टर सहितको सेवालाई निरन्तरता दिन र छिटो व्यवस्थापन गर्न गाउँपालिकालाई आग्रह गरेको बताउनुभयो ।
जिल्लाको दुर्गम पालिका भएकाले चिकित्सकको व्यवस्था भएमा नागरिकलाई सर्वसुलभ सेवा मिल्ने कृष्ण जैसीको भनाई छ । उक्त सुविधाबाट छिमेकी गुल्मीको मदाने गाउँपालिकाको अग्लुङका नागरिक समेत लाभान्वित हुने उहाँले बताउनुभयो । विगतमा पालिकाका जनताले चिकित्सक सहितको स्वास्थ्य सेवा हँुदा सहजै स्वास्थ्य सेवा पाएको समेत उहाँले बताउनुभयो ।
कोभिड–१९ शुरु भएपछि पालिकाले डाक्टरको व्यवस्था गरेको थियो । त्यतिबेला मासिक एक लाख २० हजार रुपियाँ तलव सुविधा दिएर डाक्टर राखिएको गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले बताउनुभयो । महालेखा परीक्षकबाट उक्त तलव सुविधा बढी भएको भन्दै प्रश्न आएकाले सरकारी तलव स्केलमा डाक्टर राख्ने निर्णय गरिएको अध्यक्ष गिरीको भनाई छ । तर उक्त सेवा सुविधामा डाक्टर बस्न नमानेपछि सेवा रोकिएको उहाँले जानकारी दिनुभयो ।
“स्विकृत दरबन्दी नभएको र बेरुजु देखिने भएपछि आन्तरीक आम्दानीबाट निरन्तरता दिन खोजेका थियौं,” उहाँले भन्नुभयो,“दुई पटक विज्ञापन पनि गरेको हो तर कोहि पनि सम्पर्कमा आउनुभएन ।” डाक्टरको व्यवस्था हुँदा धेरै जनताले लाभ लिएको स्मरण गर्दै उहाँले अहिलेपनि डाक्टर राख्न अधिकतम पहल भइरहेको बताउनुभयो ।



S.K. Creative Media Group